रामेछाप नगरपालिकाको प्रमुखमा उपप्रमुख खड्काको दावी



२ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकाको नगरप्रमुखमा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले दावी गरेकी छिन् । उपप्रमुख भएर रामेछाप नगरपालिकाको विकास र सुशासनको लागि राम्रो काम गरेकाले आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पाउनु पर्ने दावी गरेकी हुन् ।

पाँच बर्षे कार्यालयमा न्यायिक समिति मार्फत जिल्लाकै नमूना काम गर्न सफल भएको बताउदै खड्काले नगरपालिकाभित्र पूर्वाधार निर्माणको कामलाई प्रभावकारी बनाउन अनुगमन समिति  मार्फत  मह्तवपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् । उनले रामेछाप न्युजसँग भनिन,‘नगर उपप्रमुख भएर पाँच बर्ष काम गरेको अनुभवको आधारमा स्वभाविक रुपमा नगरप्रमुखमा मेरो दावी रहन्छ । खड्काले दावी गरेपनि पार्टीले नगरपालिकाबाट उम्मेदवार हुनेहरको नाम सिफारिस गर्न बाँकी रहेको छ ।

रामेछाप नगरपालिकाबाट वर्तमान नगरप्रमुख नर बहादुर थापामगर, निवर्तमान जिल्ला सभापति लवश्री न्यौपाने लगायतका नेताहरुको दावी रहेको छ । सत्ता गठबन्धनको बीचमा चुनावी तालमेल भएको खण्डमा रामेछाप नगरपालिकामाको नगर प्रमुख कांग्रेसले लिएर उपप्रमुख माओवादी केन्द्रलाई छोडने चर्चा पनि सुरु भएको छ । तर कुन दलले कुन पद लिने भन्ने आधिकारिक निर्णय सत्ता गठबन्धनले अझै गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्