गठबन्धन बारे निर्णय गर्न बसेको रामेछाप कांग्रेसको बैठक मध्ये रातमा स्थगित



तस्बीरः सरस्वती रायमाझीबाट

२ वैशाख, रामेछाप ।
आगामी चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको विषयमा निर्णय गर्नको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्लाको आठ वटै स्थानीय तहका पदाधिकारी र वडा इकाई सभापतिको सुझाव लिएको छ । मन्थलीमा आज बिहानबाट सुरु भएको छलफलमा सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी गाउँपालिकाका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका पदाधिकारी र वडा इकाई सभापतिले गठबन्धन गर्ने÷ नगर्ने विषयमा मिश्रित धारणा राखेका छन् । सुझाव दिने अधिकाशं पदाधिकारीहरुले गठबन्धन गर्नु भन्दा पार्टीले एक्लै चुनाव लडनु पर्ने धारणा व्यक्त गरेका छन् ।

गठबन्धनको विषयमा पार्टीको धारणा तय गर्न बोलाइएको बैठकमा जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश कार्य समितिका सदस्य, पूर्व पदाधिकारी एवं पूर्व महाधिवेशन प्रतिनिधिहरु, वर्तमान महाधिवेशन प्रतिधिहरु गरी करिब साढे तीन सय भन्दा बढीको सहभागीता रहेको छ । आज पाँच वटा स्थानीय तहको सुझाव सुन्ने काम सम्पन्न भएको र भोली लिखु तामाकोसी, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका सुझाव सुन्ने कार्यक्रम रहेको कांग्रेस रामेछापका सचिव दिपक खड्काले रामेछाप न्युजलाई बताए । भोलीको बैठकले पार्टीको धारण तय गरेसँगै सत्ता गठबन्धनको बैठकमा उक्त निर्णय लिएर जाने भएको छ ।

छलफल कार्यक्रममा आज केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बागमती प्रदेशका महामन्त्री कञ्चनदन्द्र वादे लगायतका नेताहरुले गठबन्धनको विषयमा आ–आफ्नो धारणा राखेका थिए । बैठक केही बेर अघि स्थगित भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्