रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने/नहुने आज टुंगो लाग्ने



४ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालेमेल गर्ने विषयमा आज साँझ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनमा आबद्ध पाँच दलबीच आज सिट बाँडफाँडको विषयमा छलफल हुने भएको हो । आठ वडा स्थानीय तहको ६४ वटा वडामै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको तयारी छ । तर गठबन्धनमा आबद्ध दलहरुले आ–आफ्नो दावी अघि सार्दै आएका छन् ।
माओवादीले सुनापति, दोरम्बा खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गरेको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादीले सुनापति र दोरम्बा गाउँपालिकामा जितेको थियो ।

अहिले खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा पनि माओवादीको दावी छ । रामेछाप नगरपालिका जितेको कांग्रेसले खाँडादेवी, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा दावी गरेको छ । केन्द्रको निर्देशन पालना भएको अवस्थामा कांग्रेस मन्थली नगरपालिकामा एकीकृत समाजवादीलाई छोडन तयार हुने बताइएको छ । यद्यपी कांग्रेसले मन्थली नगरपालिकामा आफ्नो दावी कायमै राखेको छ ।

नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले आज पाँच बजेको लागि सत्ता गठबन्धनको बैठक बोलाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आजको बैठक चुनावी तालमेल गर्ने नगर्ने विषयमा निर्णय गर्नेछ ।
कांग्रेसले माओवादीलाई सुनापति दोरम्बा र अन्य एक गाउँपालिका लिन प्रस्ताव गरेपनि माओवादीले चार वटा स्थानीय तहमा आफ्नो दावी गर्दै आएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले सत्ता गठबन्धनबीच चुनावी तालमेलको विकल्प नभएको बताउन । उनले रामेछाप न्युजसँग भने, ‘तत्काल सत्ता गठबन्धनको बीचमा सम्मानजनक तालेमल गरेर अघि जानु पर्छ ।’
चुनावी तालमेलको विषयमा छलफलमा कांग्रेस र माओवादीबीच मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयलाई लिएर विवाद कायमै छ । कांग्रेसले पूर्व सहमति कार्यान्वयन गर्न माओवादीलाई दबाब दिए पनि माओवादीले साना कुरामा अल्झिएर गठबन्धनलाई नै प्रभावित पार्न नहुने तर्क गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्