रामेछापमा सत्ता गठबन्धन भाँडिदै, कांग्रेसले लेख्यो पत्र



५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने करिब निश्चित भएको छ । नेपाली कांग्रेस र माओवादीबीच कुरा सिट बाँडफाँडमा कुरा मिल्न नसक्दा अब तालमेल हुने सम्भावना निकै न्युन बन्न पुगेको हो ।

रामेछापमा माओवादीले सुनापति गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गर्दै आएको छ । माओवादीले चार वटा स्थानीय तहमा दावी गरेपछि कांग्रेसले पनि रामेछापको पाँच वटा स्थानीय तह दावी गरेको छ । एकीकृत समाजवादीले मन्थली नगरपालिकामा आफ्नो दावी कायमै राखेको छ । गठबन्धनमा आबद्ध तीन दलबीच आ–आफ्नै दावी कायमै रहेसँगै सत्ता गठबन्धनको बैठक नै बस्न सकेको छैन् ।

गठबन्धन निर्माण नहुने भएसँगै सत्ता गठबन्धन आ–आफ्नै तयारीमा जुटेका छन् । सुरुमा चुनावी तालमेल हुने भन्दै उत्साहित बनेका तीन दलबीच आ–आफ्नो अडानले बैठक नै प्रभावित बन्न पुगेको छ ।सत्ता गठबन्धनबीच कुरा मिल्न नसकेपछि कांग्रेसले जिल्लाको आठ वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहमा प्रमुख पाउनु पर्ने प्रस्तावसहितको चिठी माओवादी र एकीकृत समाजवादीलाई पठाएको छ ।

कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले कांग्रेसको पाँच वटा स्थानीय तहमा दावी रहेको बताउदै सहमति भएको अवस्थामा जवाफ पठाउन माओवादी र एकीकृत समाजवादीलाई पत्र पठाएको रामेछाप न्युजलाई बताए । सहमति निर्माण नभएको आज नै पत्रकार सम्मेलन गरेर आ–आफ्नो ढंगले निर्वाचनमा सहभागी हुने तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्