रामेछापमा ६ स्थानीय तह जित्ने एमालेको हिसाब (नामसहित)



५ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको ८ मध्ये ६ वटा स्थानीय तहमा जित्ने दावी गरेको छ । विगतमा जित हासिल गरेको पाँच सहित थप एक स्थानीय तहमा पनि जित्ने दावी गरेको हो । एमाले रामेछापका अध्यक्ष आन्नद श्रेष्ठले जिल्लामा छ वटा स्थानीय तह जित्ने आफ्नो पार्टीको आधार रहेको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार विगतमा एमालेले जितेको स्थानीय तहमा विगतमा भन्दा संगठन राम्रो बनेको र पार्टी फुटको असर नभएको हुनाले सहज रुपमा जित्ने आकलन गरेका छौं । एमालेले गत स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका जितेको थियो ।

यस पटक रामेछाप नगरपालिका पनि जित्ने एमाले दावी गरेको छ । गत निर्वाचनमा एमालेबाट रामेछाप नगरपालिकाको उम्मेदवार बनेका रोशन पाख्रिन झिनो मतको कारण पराजित भएका थिए । यस पटक पनि एमाले पुनः पाख्रिनलाई नै सर्वसम्म रामेछापको नगरप्रमुखको उम्मेदवार चयन गरिसकेको छ ।
गत निर्वाचनमा एमालेबाट मन्थली नगरपालिकाको नगरप्रमुखमा निर्वाचित रमेश कुमार वस्नेत हाल एकीकृत समाजवादीमा छन् । रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने अवस्थामा एमालेलाई विगतको विरासत जोगाउने अवसर बन्न सकिने चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्