सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डामा सहमति, कहाँ कसले पायो ? (नामसहित)



६ वैशाख, काठमाडौं ।
सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको भागवण्डामा सहमति जुटेको छ । लामो समयको गृहकार्यपछि सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकामा भागवण्डा मिलेको हो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको नगर प्रमुख र नगर उपप्रमुखमा लिखित सहमति नै भएको छ । सहमति अुनसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको नगरप्रमुख तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको नगर उपप्रमुख पद लिनेछ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नगर प्रमुख र ललितपुरको नगर उपप्रमुख पाउदा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नगर प्रमुख र काठमाडौं महानगरपालिकाको नगर उप्रमुख पाउने भएको छ । जनता समाजवादी पार्टीले वीरगञ्जको नगरप्रमुख र विराटनगरको नगर उपप्रमुख पाउने सहमति भएको छ ।

उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको नगर प्रमुख लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको नगर उप्रमुख लिने सहमति भएको छ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नगर उप्रमुख पाउदा धरान र धनगढीको नगर उपप्रमुख पाएको छ ।

नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ । त्यसैगरी जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ । सत्ता गठबन्धनभित्र आ–आफ्नो अडान छोडदै महानगरपालिका र उपमहानगरपालिकामा सहमति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्