रामेछापमा माओवादी–कांग्रेसको विवादले भाँडिएको सत्ता गठबन्धनको बैठक पुनः सुरु



६ वैशाख, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडको विषयलाई लिएर भाँडिएको गठबन्धनको बैठक पुनः सुरु भएको छ । आज माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीको छुट्टै बैठक बसेसँग अहिले सत्ता गठबन्धनको बैठक मन्थलीमा सुरु भएको छ । सिट बाँडफाड लगायतको विषयमा सहमति जुटाउन कांग्रेस, माओवादी र एकीकृत समाजवादीको बैठक सुरु भएको छ ।

बैठकमा चुनावी तालमलेको विषयमा छलफल भइरहेको माओवाादी केन्द्र रामेछापका जिल्ला संयोजक मैन कुमार मोक्तानले रामेछाप न्युजलाई जानकारी दिए । आठ स्थानीय तह मध्ये माओवादीले पाँच र कांग्रेसले ६ वटा स्थानीय तहमा दावी गरेपछि गठबन्धनको बैठक भाँडिएको थियो । तर तीन दलका नेताहरुबीच आन्तरिक गृहकार्य गरेसँगै गठबन्धनको बैठक बसेको हो ।

एकीकृत समाजवादीले सिट बाँडफाँडमा माओवादीलाई तीन, कांग्रेसलाई चार र आफ्नो पार्टीले एउटा स्थानीय तह लिने गरी प्रस्ताव गरेको छ । तर माओवादी र कांग्रेसले आ–आफ्नो दावी नछोडदा गठबन्धन बन्न सकिरहेको छैन् । माओवादी र कांग्रेसबीच सहमति भए रामेछापमा चुनावी तालमेल हुने सम्भावना कायमै रहेको बैठकमा सहभागी एक नेताले बताए । मंगलवार मात्र कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले रामेछापमा गठबन्धन नहुने रामेछाप न्युजलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्