रामेछापमा सत्ता गठबन्धनको बैठक तीन घण्टादेखि जारी, तालमेल गर्न सहमतिको खोजी



६ वैशाख, रामेछाप ।
रामेछापमा चुनावी तालमेल गर्नका लागि सत्ता गठबन्धनको बैठक तीन घण्टादेखि जारी छ । मन्थलीमा बसिरहेको गठबन्धनका नेताहरुबीच अहिलेसम्म पनि आ–आफ्नै अडान राख्ने काम भइरहेको छ । गठबन्धनको बीचमा विशेषगरी कांग्रेस र माओवादी केन्द्रबीच कुरा मिल्न सकेको छैन् । आठ वटा स्थानीय तह मध्ये माओवादीले पाँच वटामा दावी गर्दा कांग्रेसले ६ वटा स्थानीय तहमा दावी कायमै राखेको छ ।
कांग्रेस र माओवादीको कारण मन्थली नगरपालिकामा दावी गर्दै आएको नेकपा एकीकृत समाजवादी अझ अन्योलमा परेको छ । मंगलवार गठबन्धन भाँडिएको घोषणा गरेका कांग्रेस र माओवादी आज पुन चुनावी तालमेलका लागि भन्दै बैठकमा बसेका छन् । गठबन्धनको बैठकमा सहभागी माओवादीका जिल्ला सचिव तारानारायण श्रेष्ठले सकेसम्म आजै सिट बाँडफाँडमा सहमति गर्ने गरी छलफल भइरहेको रामेछाप न्युजलाई बताए ।

बैठकमा माओवादीका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ, जिल्ला संयोजक मैन कुमार मोक्तान र जिल्ला सचिव तारानारायण श्रष्ठ, कांग्रेसबाट जिल्ला सभापति पूर्ण बहादुर तामाङ कान्छाराम, उपसभापति लेख बहादुर कार्की, एकीकृत समाजवादीबाट जिल्ला इन्चार्ज देवशकंर पौडेल र जिल्ला सह–इन्चार्ज होम बुढाथाकी लगाायतका नेताहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्