एमाले रामेछापमा दुई स्थानीय तहको प्रमुख सर्वसम्मत, ६ स्थानीय तहमा यी हुन सम्भावित उम्मेदवारहरु (नामसहित)



८ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले आठ स्थानीय तह मध्ये दुई स्थानीय तहको नेतृत्व सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । एमालेले रामेछाप नगरपालिकाको नगरप्रमुखमा रोशन पाख्रिन र सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जनलाई सर्वसम्मत उम्मेदवार बनाएको हो ।
बाँकी रहेको छ वटा स्थानीय तहमा पार्टीको उम्मेदवार छनोट गर्न एमाले जिल्ला कमिटीले बागमती प्रदेश कमिटीमा सिफारिस गरिसकेको छ । दुई दिनभित्र अध्यक्षहरुको उम्मेदवार टुंगो लाग्ने एमालेले बताएको छ ।
खाँडादेवी गाउँपालिकाबाट वर्तमान गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, नेता ज्ञान कुमार श्रेष्ठ र इन्द्र तामाङको नाम चर्चामा रहेको छ । तीन जना मध्ये एक जना अध्यक्षको उम्मेदवार बन्ने छन् ।
त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाबाट टंक चौलागाई, मिलन घिसिङ र प्रेम लामा मध्येबाट एक जना गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुने सम्भावना रहेको एमालेका एक नेताले रामेछाप न्युजलाई बताए । दोरम्बा शैलुङ गाउँपालिका गत निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो ।
त्यसैगरी मन्थली नगरपालिकामा भने एमालेबाट उम्मेदवारको आकांक्षी धेरै रहेका छन् । मन्थली नगरपालिकामा लव श्रेष्ठ, कृष्णहरि अधिकारी, धु्रब कार्की, मन्थली नगरपालिकाका उपप्रमुख माया कार्की, उज्वल सुवेदी लगायतका नेताहरुले चाहना देखाएका छन् । गत निर्वाचनमा एमाले रामेछापका वर्तमान अध्यक्ष आनन्द श्रेष्ठको चर्चा भएपनि अन्तिम समयमा तत्कालिन एमालेबाट रमेश कुमार वस्नेतले टिकट लिएका थिए । वस्नेत हाल एमाले छोडेर एकीकृत समाजवादी रामेछापका अध्यक्ष छन् ।
मन्थली नगरपालिकापछि धेरै नेताहरुले लिखु तामाकोसी गाउँपालिकाको अध्यक्ष बन्ने चाहना देखाएका छन् । विवादित गाउँपालिकाको पहिचान बनाएको लिखु तामाकोसी गाउँपालिकामा गत स्थानीय तहमा एमालेबाट उम्मेदवार बनेका गोविन्द खड्काले पालिकाको अध्यक्ष जितेका थिए ।
पालिकाको अध्यक्षमा वर्तमान उपाध्यक्ष दीपशिखा दाहाल, जिल्ला सचिव पुरुषोत्तम कडेरिया, आश बहादुर तामाङ, केशर पौडेल, राजेन्द्र कार्की, उद्धव कडेरिया लगायतका नेताहरुको चाहना देखएका छन् । यी चाहना देखाएका नेताहरु मध्येबाट एक जना अध्यक्षको उम्मेदवार बन्ने बताइएको छ ।
यसैबीच गोकुलगंगा गाउँपालिकाको अध्यक्षको लागि वर्तमान गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार, बुद्धि बहादुर कार्की, अर्जुन कार्की र राजेन्द्र कार्कीले इच्छा देखाएका छन् भने उमाकुण्ड गाउँपालिकाबाट वर्तमान गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार र चित्र बहादुर कार्कीको नाम चर्चामा रहेको छ । उमाकुण्ड गाउँपालिकाबाट सुनुवार नै पुनः अध्यक्षमा दोहोरिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्