रामेछापमा कांग्रेस– माओवादीको घमण्डले चुनावी तालमेल हुन सकेनः वस्नेत



८ वैशाख, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले जिल्लामा चुनावी तालमेल कांग्रेस र माओवादीको घमण्डको कारण भाँडिएको बताए । उनले आफ्नो हैसियत भन्दा धेरै सिटको अडान लिएको कारण गठबन्धन हुन नसकेको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष वस्नेतले भने,‘दुवै पार्टीको हैसियत रामेछापमा राम्रोसँग थाहा छ, छुट्टा छुटै लडेर कांग्रेस र माओवादीले जित्न सक्ने अवस्था छैन, हामी त भर्खर जन्मिएको पार्टी हो, एक्लै चुनाव जित्न नसके पनि हार जितको लागि निर्णायक शक्ति हौं ।’ कांग्रेसले मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषय उठाएर चुनावी तालमेल नै नचाहेको बताउदै वस्नेतले भने गठबन्धनबीच आपसी समझदारी बन्न नसक्दा तालमेल हुन नसकेको बताए ।

चुनावी तालमेलको लागि रामेछापको आठ स्थानीय तह मध्ये कांग्रेसले ६ सहित ३७ वडा र माओवादीले पाँच स्थानीय तहसहित ३३ वडामा दावी गरेको छ । एकीकृत समाजवादीका जिल्ला इन्चार्ज देवशकंर पौडेलको पहलमा बुधवार राती बसेको गठबन्धनको बैठकमा पनि कांग्रेसले मन्थली माविको विषयलाई प्रमुख एजेण्डा बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्