रामेछाप जिल्लामै पहिलो पटक जुनार खेतीको बीमा, किसान उत्साहित



८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामै पहिलोि पटक जुनार खेतीको बीमा गरिएको छ । किसानहरुले जुनार खेती गरेपनि किरा लाग्दा किसानले बार्षिक लाखौ रुपैयाँ गुमाउनु पर्ने अवस्था सुरु भएपछि जुनारको बीमा सुरु गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत् बिहीबार जुनार बीमा गरिएको छ ।

परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमार्फत रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरी किसानको बगैंचामा पुगेर बीमा लेख हस्तान्त्रण गरेको छ । बीमा गर्नुअघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए।

बीमामार्फत् आगलागी, चट्याङ, भूकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमई जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले बताए । उनले बीमा गर्दा धेरै कुरामा फाइदा हुने बताउदै थोरै बजेटमा बीमा गरेर ठूलो फाइदा लिन सकिने बताए । नोक्सानी भएमा अधिकतम बीमा रकमको सीमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने जानकारी दिए । बीमाको कार्यक्रम सुरु भएपछि रामेछापमा जुनार खेती गर्ने किसान उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्