रामेछापमा ढुक्क छैनन, कांग्रेस–माओवादी !



९ वैशाख, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । कांग्रेस र माओवादीबीच मन्थली माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर सुरु भएको विवादको कारण भागवण्डामा विषय प्रवेश नै नगरी गठबन्धन भाँडिएको छ । औपचारिक रुपमा नै कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । कांग्रेसले आठ वटै स्थानीय तहमा एक्लै लडने गरी उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ । कांग्रेसले ६ वटा स्थानीय तहमा जित्ने आकलन गरेको छ । कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले ६ वटा स्थानीय तह र ४० भन्दा बढी वडामा कांग्रेसले जित्ने दावी गरेका छन् ।

८ वटा स्थानीय तह र ६४ वटा वडा रहेको रामेछापमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकासहित १३ वटा वडामा निर्वाचन जितेको थियो । कांग्रेसले एमाले विभाजित भएको र माओवादीको सांगठानिक अवस्था कमजोर भएको हिसाब निकाल्दै ६ वटा स्थानीय तह जित्ने हिसाब निकालेको छ । तर दावी गरेजस्तो गरी चुनाव जित्नेमा कांग्रेस ढुक्क भने देखिएको छैन् । कांग्रेसलाई १३ वडाबाट बढाएर ४० वटा वडा जित्न त्यति सहज नरहेको बताइएको छ । गत स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा दोस्रो भएको तथ्याङकलाई आधार बनाएर पनि कांग्रेसले जित्ने दावी गरेको छ ।

त्यसैगरी गत स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति र दोरम्बा शैलुङ गाउँपालिका जितेको माओवादी पनि दावी गरेको थप तीन वटा स्थानीय तहको निर्वाचन जित्नेमा ढुक्क देखिएको छैन् । विगतमा जितको दुई स्थानीय तह जित्ने हिसाब निकालेको माओवादीले खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका जित्ने दावी गरेको छ । गत निर्वाचनमा २३ वटा वडा जितेको माओवादीले आगामी निर्वाचनमा ३३ वटा वडा जित्ने आकलन गरेको छ । जिल्लामा विगतमा भोट प्रभाव पार्न सक्ने नेताहरु एमालेमा प्रवेश गरेको कारण सांगठानिक रुपमा केही भोट घटन सक्ने अनुमान गरिएको छ । तर माओवादी रामेछापका सचिव तारानारायण श्रेष्ठले पाँच वटा स्थानीय तह जित्ने सांगठानिक आधार रहेको दावी गरे ।

कांग्रेस र माओवादीको अडानको कारण चुनावी तालमेल हुन नसकेकोप्रति नेकपा एकीकृत समाजवादी घमण्डको कारण दुवै पार्टी हार्ने अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले गठबन्धनको पक्षमा लविङ गरेपनि कांग्रेस–माओवादीले अडान नछोडेपछि अब एक्ला एक्लै चुनावी मैदानमा होमिने भएका छन् । एकीकृत समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत भन्छन–कांग्रेस–माओवादीले जति घमण्ड गरेपनि अहिलेको अवस्थामा एक्ला एक्लै चुनाव लडेर जित्ने अवस्था छैन, यो कुरा लेखेर राखे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्