रामेछापमा सत्ता गठबन्धन भाँडिदा एमाले उत्साहित



९ वैशाख, रामेछाप ।
रामेछापमा आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने करिब चिश्चित भएसँगै एमाले उत्साहित भएको छ । सत्ता गठबन्धन हुँदा चुनावी केही स्थानीय तह गुमाउने हिसाब निकालेको एमाले रामेछापले अब भने चुनावी जित्नेमा ढुक्कजस्तै देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा पाँच वटा स्थानीय तहमा निर्वाचन जितेको एमाले यस पटक थप एक स्थानीय तह थपेर ६ वटा पुर्याउने दावी गरेको छ । गठबन्धन हुँदा एमालेले मन्थली नगरपालिका, रामेछाप नगरपालिका जित्नको सहज नहुने अनुमान गरेको थियो । तर सत्ता गठबन्धन नहुने भएपछि एक्लै चुनावी जित्ने आधार बनेको एमालेले निष्कर्ष निकालेको छ ।

एमालेले खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका, मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा जित्ने आधार रहेको एमालेले दावी गरेको छ । सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकामा पनि चुनावी जित्ने दावी गरेपनि सांगठानिक रुपमा चुनौती रहेको एमालेकै एक जिल्ला नेताले बताए ।

ती नेताले रामेछाप न्युजसँग भने,‘सत्ता गठबन्धन भएको अवस्थामा दावी गरेको स्थानीय तहमा जित्ने निकै मेहनत गर्नु पर्ने अवस्था थियो, अब सबै दल एक्ला एक्लै चुनाव लडने भएपछि एमालेले जित्नेमा कुनै शंका छैन् ।’ एमालेले गत स्थानीय तहको निर्वाचनको तुलनामा लिखु तामाकोसी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा संगठन सुढृढ बनेको दावी गरेको छ ।

जिल्लाको ६४ वटा वडा मध्ये एमालेले ४० भन्दा बढी वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । त्यसैगरी सुनापति गाउँपालिका र रामेछाप नगरपालिकाको प्रमुखको उम्मेदवार पनि एमालेले सर्वसम्मत चयन गरिसकेको छ । एमालेले सकेसम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेर विपक्षीले एकताको सन्देश दिन खोजेको छ । यता सत्तारुढ दल कांग्रेस र माओवादीभित्र भने उम्मेदवारको आकांक्षी धेरै हुँदा टुंगो लगाउन चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्