मन्थली माविको विवाद मिल्ने भएपछि रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको तयारी



९ वैशाख, रामेछाप ।
मन्थली माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयनको विषयलाई लिएर कांग्रेस र माओवादीबीच देखिएको विवाद मिल्ने भएसँगै रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको तयारी अघि बढेको छ । पूर्व सहमति अनुसार माओवादीबाट मन्थली माविको अध्यक्षले राजिनामा दिएपछि विवाद मिल्न लागेको हो । कांग्रेस चुनावी तालमेल गर्न पूर्व सहमति पालना गर्नुपर्ने माग माओवादीसँग राख्दै आएको छ । चुनावी तालमेल नै भाँडिने भएपछि सहमति पालना गर्न माओवादी लचक भएको छ ।

माओवादी रामेछापका सचिव तारानारायण श्रेष्ठले सम्मानजक सिट बाँडफाँड भएर सहमति बन्ने अवस्थामा मन्थली माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई फिर्ता बोलाउने विषयमा आफूहरु तयार भएको रामेछाप न्युजलाई बताए । उनले भने,‘गठबन्धन गरेर सबैको अस्तित्व स्वीकार गरेर जाने अवस्थामा कांग्रेसले अघि सारेको माग पुरा गर्न हामी तयार भएका छौं ।

केहीबेर अघि रामेछापमा सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठक तीन पार्टीपभित्र आन्तरिक छलफल गरेर पुनः बस्ने भएको छ । बैठकमा गठबन्धनमा आबद्ध दलहरुले आ–आफ्नो दावी प्रस्तुत गरेका छन् । अब उक्त प्रस्तावमाथि आन्तरिक छलफल गरेर गठबन्धनको बैठकमा सिट बाँडफाँडमा मोटामोटी छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादी रामेछापका सह–इन्चार्ज होम बुढाथोकीले कांग्रेसले अघि सारेको माग पूरा गर्न माओवादी सहमत भएसँग रामेछापमा सत्ता गठबन्धबीच चुनावी तालमेल हुने रामेछाप न्युजलाई बताए ।रामेछापको आठ वटा स्थानीय तह मध्ये माओवादीले पाँच, कांग्रेसले ६ र एकीकृत समाजवादीले एक स्थानीय तहमा दावी गर्दै आएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले चार, माओवादीले तीन र एकीकृत समाजवादीले एक स्थानीय तह लिने गरी सहमतिको खोजी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्