स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता, रामेछापमा ३३६ पदको लागि निर्वाचन हुने



११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।

यसैबीच रामेछापको ८ वटा स्थानीय तह ६४ वटामा पनि उम्मेदवारी दर्ता आजबाट सुरु हुने भएको छ । आठ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम सुरु भइसकेको छ । जिल्लाको ६४ वटामा वडाअध्यक्ष र सदस्यसहित ३२० जना र आठ स्थानीय तहको प्रमुख उप्रमुख १६ जना गरी ३३६ पदमा निर्वाचन हुनेछ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले आजबाट जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुने रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्