रामेछाप नगरपालिकामा एमालेबाट नगरप्रमुखको उम्मेदवार बनेका पाख्रिनले गराए मनोनय दर्ता



१२ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बन्नेहरुले आज मनोनय दर्ता गराएका छन् । रामेछाप बजारमा बाजागाजासहित एमालेका नेता कार्यकर्ताहरुले र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट रामेछाप नगरपालिकाको नगर प्रमुखका उम्मेदवार रोशन पाख्रिन, नगर उप्रमुख सीता कुमारी खत्रीसहित ९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
गत निर्वाचनमा एमालेबाट उम्मेदवार बनेको युवा नेता रोशन पाख्रिन करिब एक सय मतको कारण पराजित भएका थिए । नगरपालिकामा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पाख्रिनलाई यस पटक पनि एमालेले पुनः नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनाएको छ । कोभिडको बेला जिल्ला अस्पताल रामेछापको अध्यक्ष भएर कोभिडनका बिरामीलाई अक्सिनको अभाव हुन नदिने कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको पहलमा जिल्ला अस्पतालमा हाल पिसिआर परीक्षण मेसिन, अक्सिन प्लान्ट, आइसीयू लगायतका सेवा विस्तार गरिएको छ ।

रामेछाप नगरवासीले कोभिडमा नागरिकलाई बचाउन खेलको भूमिकालाई लिएर पाख्रिनलाई सम्झने गरेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि नगर प्रमुखका उम्मेदवार पाख्रिनले गत निर्वाचनमा चुनाव हारेपनि पाँच बर्ष जनताको दुःख सुखमा साथै रहेकाले यस पटकको निर्वाचनमा जिताउने विश्वास व्यक्त गरे । उनले भने,‘रामेछाप नगरपालिकाको विकास गर्न सबैसँग सहकार्य गरेर अघि बढछु, म अरु पार्टीको आलोचना गर्दिन, रामेछाप नगरपालिकालाई नमूना नगरपालिकाको रुपमा विकास गर्न मन बचन र कर्मको साथ लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्