एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेका प्रेमबहादुर तामाङ पुनः एमालेले फर्किए



१२ वैशाख, रामेछाप ।
नेकपा एमालेबाट परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ पुनः एमालेमै फर्किएका छन् । पार्टीबाट टिकट नपाउने निश्चित भएपछि तामाङ शनिवार आकास्मिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर त्यसको दुई दिनपछि तामाङ पुनः एमालेकै बैठकमा सहभागी भएका छन् । समाजवादीले तामाङलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

तामाङ सहित समाजवादीले आफ्नो पार्टीमा प्रवेश गरेको भनिएका नेकपा एमाले खाँडादेवी गाउँपालिका सचिव मोतीलाल तामाङ, वडा नं ७ का वडाध्यक्ष असलसिं तामाङ, नेता शेरबहादुर तामाङ लगायतका सबै नेता एमालेको बैठकमा सहभागी भएको नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जाानकारी दिए ।

चुनावी रणनीति निर्माण गर्न एमाले रामेछापका नेताहरु बैठकमा बसेका छन् । बैठकमा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं एमाले वाग्मती प्रदेश सदस्य प्रेमबहादुर खड्का, गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार ज्ञानकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, खाँडादेवी गाउँपालिका पार्टी अध्यक्ष पुष्करकुमार कार्की, खाँडादेवी गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ, उपाध्यक्षकी उम्मेदवार रमा घिसिङ लगायतका नेताहरुको बैठक अहिले बसिरहेको छ ।

गत शुक्रवार तामाङले खाँडादेवी गाउँपालिकाको अध्यक्षबाट राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यस लगत्तै शनिवार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । आज उनले मनोनय दर्ता नगराएसँगै पुनः एमालेमै फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्