सत्ता गठबन्धन नहुँदा रामेछापमा एमाले उत्साहित, कांग्रेस एक्लै चुनाव लडदा माओवादी र समाजवादीबीच गठबन्धन



१३ वैशाख, रामेछाप ।
रामेछापको आठ स्थानीय तह र ६४ वटा वडाबाट आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३३६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । ३३६ पदको लागि रामेछापमा १३ सय बढीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले बनाएको छ । रामेछापमा विशेषगरी चार पार्टीको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रले गठबन्धन गर्न निर्देशन दिएपनि रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन सकेन ।

माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुँदा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । सत्ता गठबन्धनमा आबद्ध तीन दलबीच चुनावी तालमेल हुन नसक्दा नेकपा एमाले भने उत्साहित बन्न पुगेको छ । गठबन्धन हुँदा विगतको विरासत धान्न चुनौती ठानिरहेको एमाले सत्ता गठबन्धन नभएपछि विगतको विरासत धान्नेमा ढुक्कजस्तै देखिएको छ । तर कम्युनिष्ट पार्टीहरु विभाजित बनेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले पनि आफ्नो पार्टीले जित्ने दावी गर्दै आएको छ । सिट बाँडफाँडमा कांग्रेस र माओवादीबीच कुरा नमिलेपछि रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

दुई दलबीच चार वटा स्थानीय तहमा तालमेल भएको छ । मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा दुई दलबीच सिट बाँडफाँड गरेर उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा पाँच वटा स्थानीय तहको निर्वाचन जितेको एमालेलाई विरासत जोगाउने चुनौती छ । त्यसैगरी गत निर्वाचनमा एउटा मात्र स्थानीय तह जितेको कांग्रेसलाई थप स्थानीय तह जित्ने दबाब रहेको छ । यता दुई वटा स्थानीय तह जितको माओवादीलाई जसरी पनि जित्नु पर्ने चुनौती रहेको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा आफने पार्टीको पक्षमा जनमत पार्नको लागि रामेछापमा राजनीतिक दलहरुले आ–आफ्नो रणनीति अघि सारेर प्रचार प्रसारमा जुटने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्