स्थानीय तह निर्वाचनः रामेछापमा भोट माग्न खेत बारीमा उम्मेदवार



१५ वैशाख, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएसँगै रामेछापमा विभिन्न पार्टीका उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । भोट माग्नको लागि उम्मेदवारहरु घरदैलो अभियानमा लागेका हुन् । आठ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएसँगै चहलपहल बढेको छ । चोक र टोलटोलमा चुनावमा कस्ता उम्मेदवारी छान्ने चर्चा समेत हुने क्रम पनि सुरु भएको छ ।

रामेछापको ८ वटा स्थानीय तह र ६४ वटै वडामा एकसाथ राजनीतिक दलहरुबीच चुनावी अभियान सञ्चालन गरेका छन् । वडाको टोलटोलमा राजनीतिक भेटघाट र भोट माग्न उम्मेदवारहरु लागि परेका छन् । निर्वाचन आउन पन्ध्र दिन मात्र बाँकी रहदा उम्मेदवारहरु आफ्नो पक्षमा भोट तान्ने रणनीतिमा लागेका छन् ।
रामेछापमा कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तहमा चुनावी प्रतिस्पर्धा हुनेछ । रामेछापमा सत्ता गठबन्धन नभएसँगै कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ भने माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा सहभागी भएका छन् । सत्ता गठबन्धन नहुदा एमाले भने उत्साहित बनेको छ ।

यसैबीच एमालेबाट मन्थली नगरपालिकाका नगरप्रमुखमा उम्मेदवारी दिएका लव श्रेष्ठ मत माग्न घरखेतमै पुग्नुभएको छ । मकै खन्दै गरेका मतदातासँग श्रेष्ठले सुझावसँगै मत मागेका हुन् ।एमालेबाट नगर उप्रमुखको उम्मेदवार बनेकी ईश्वरी वस्नेतले भने किसानले खेतमा मकै गोडेरै भोट मागेकी छिन् ।

त्यसैगरी कांग्रेसबाट रामेछाप नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका लवश्री न्यौपाने र बालकुमारी थापा कार्कीले पनि मतदातासँगै गुन्द्रीमा बसेर मतदाताको सुझाव सुन्दै भोट मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्