खाँडादेवी गाउँपालिकाको गोगनपानीमा एमालेको बैठक, टिकटक बनाउदा चल्यो हाँसो



१६ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा पार्टीका उम्मेदवारलाई जिताउन नेकपा एमाले खाँडादेवी गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको गोगनपानी स्थित जंगल छेउमा आयोजना गरिएको बैठकमा एमालेका जिल्ला इन्चार्ज कैलाश ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठसहित गाउँ कमिटीका सदस्यहरु सहभागी भएका थिए ।

बैठकमा पार्टी छोडेर हिडेका गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ पुनः पार्टीमै फर्किएपछिको विषयले चर्चा पाएको थियो । बैठकमा गाउँपालिमा एमालेको तर्फबाट उम्मदेवार ज्ञान कुमार श्रेष्ठसहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई जिताउन विषयमा एकताबद्ध भएर लाग्ने अभियान सञ्चालन गर्ने निर्णय भएको एमाले खाँडादेवी गाउँ कमिटीका अध्यक्ष एवं खाँडादेवी गाउँपालिका–३ भिरपनी वडाका उम्मेदवार पुष्कर कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार पार्टीभित्र अहिले कुनै पनि आन्तरिक कुनै पनि विवाद नरहेको ठहरसहित चुनावी अभियानमा लाग्ने निर्णय भएको छ । बैठकमा पार्टीबाट उम्मेदवार बनेका उम्मेदवारहरुको पनि सहभागीता रहेको थियो ।

बैठकपछि एमालेका नेताहरुले सार्वजनिक गरेको फोटोमा नेताहरु सबै हाँसेका देखिन्छन । यस विषयमा बैठकमा सहभागी एमाले खाँडादेवीका नेता भीम श्रेष्ठले चुनाव प्रचार प्रसारको लागि टिकट भिडियो बनाउने क्रममा नेताहरबीच हाँसो चलेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्