खाँडादेवी गाउँपालिकामा माओवादीले एकीकृत समाजवादीलाई झुक्याएपछि……



१७ वैशाख, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनमा चुनावी तालेमल हुन नसक्ने अवस्था आएपछि उम्मेदवार मनोनयन गर्ने अन्तिम दिन अर्थात वैशाख १२ गते दिउसो माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति बन्यो । सहमति अनुसार आठ मध्ये दुई पालिका एकीकृत समाजवादीले लिने र बाँकी पालिका माओवादी लिने गरी सिट बाँडफाँडमा सहमति बन्यो ।

सहमति अनुसार खाँडादेवी गाउँपालिकामा एकीकृत समाजवादीबाट श्यामकाजी श्रेष्ठले अध्यक्ष र माओवादीबाट मान बहादुर तामाङले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए । तर सहमति विपरीत माओवादीले शुक्रवार माओवादीले अध्यक्षमा नेपाली कांग्रेसलाई समर्थन गरेको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको छ । कांग्रेस र माओवादीबीच भएको सहमति अुनसार कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष नवराज थोकरलाई जिताउने र उपाध्यक्षमा मान बहादुर तामाङलाई जिताउने सहमति भएको छ ।

यता माओवादी र कांग्रेसबीच सहमति भएपनि एकीकृत समाजवादीबाट अध्यक्षमा उम्मेदवारी दिएका श्यामकाजी श्रेष्ठको उम्मेदवारी कायमै रहेको छ ।नेकपा एकीकृत समाजवादी रामेछापका सह इन्चार्ज होम बुढाथोकीले सहमति विपरीत माओवादीले कांग्रेसँग सहमति गरेको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘राजनीतिमा इमान्दारीता ठूलो कुरा हो, हाम्रो पार्टीबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका श्यामकाजी श्रेष्ठको उम्मेदवारी कायमै छ, माओवादीका साथीहरु खै किन भौतारिनु भो ।’ दुई पार्टीबीच सहमति भएपछि दुवै पार्टीले आ–आफ्ना कार्यकर्तालाई अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा माओवादीलाई भोट हाल्न निर्देशन समेत दिइसकेको छ । अब माओवादीले उक्त निर्देशन सच्याउदै अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई भोट हाल्न पुनः कार्यकर्तालाई आग्रह गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्