अस्पताललाई उत्कृष्ट बनाए, अब रामेछाप नगरपालिकालाई नमूना बनाउन चाहन्छुः पाख्रिन



रोशन पाख्रिन
नगर प्रमुखका उम्मेदवार, नेकपा एमाले.रामेछाप

रामेछाप नगरपालिकामा यस पटक पनि नेकपा एमालेले रोशन पाख्रिनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । गत निर्वाचनमा करिब एक सय मतले पराजित भएका पाख्रिन यस पटक पुनः एमालेको उम्मेदवार बनेका छन् । निर्वाचनमा पराजित भएपनि जिल्ला अस्पतालको अध्यक्ष भएर सेवा सुविधा प्रवाह गर्न नसकेको जिल्ला अस्पतालाई भने सेवा सुविधाको दृष्टिकोणले नमूना अस्पतालको रुपमा विकास गर्न सफल भएको रामेछापवासीको बुझाई छ । राजनीतिसँगै सामाजिक सेवामा सक्रिय पाख्रिनले कोभिडको बेला जिल्लावासीलाई लगाएको गुण भने भुल्न सकेका छैनन् । कोभिडको बेला जिल्ला अस्पतालाई अक्सिन अभाव हुन नदिन सिलिण्डर खोज्दै पाख्रिन स्वयंम नै धाएका थिए । अहिले उनै पाख्रिन एमालेबाट नगरप्रमुखको उम्मेदवार भएका छन् । यसै सन्दर्भमा रामेछाप नगरपालिकालाई समृद्ध बनाउने योजनाको विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले एमालेका नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनसँग गरेको कुराकानीः–

तपाईले रामेछाप नगरपालिकालाई विकास गर्ने के योजना बनाउनु भएको छ ?
–रामेछाप नगरपालिका विकास निर्माणको दृष्टिकोणले कान्छो नगरपालिकाको रुपमा रहेको छ । रामेछापको पुरानो सदरमुकाम भएर पनि भौतिक पूर्वाधारको दृष्टिकोणबाट फड्को मार्न सकेको छैन् । अहिले पनि नगरपालिकाको केन्द्रदेखि वडासम्म जाने सडक व्यवस्थित हुन सकिरहेको छैन् । कृषि क्षेत्रमा राम्रो सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना र नीति नहुँदा प्रभावकारी कार्यक्रम सुरु नै भएको छैन् । अब हामीले समस्याको मात्र कुरा गरेर हुने अवस्था छैन्, विद्ययमान समस्याको समाधान गर्ने गरी विकास निर्माणको कामलाई योजनाबद्ध रुपमा अघि बढाउनु पर्छ, त्यसको लागि हामीले स्पष्ट योजना बनाएका छौ । योजनालाई दृढतापूर्वक कार्यान्वयन गर्ने संकल्प पनि गरेका छौं ।

के–के काम गर्दा रामेछाप नगरलाई समृद्ध बनाउन सकिन्छ ?
–सर्वप्रथम नगरपालिकालाई विकास गर्न योजना चाहिन्छ । योजना निर्माण गरेर मात्र कुनै पनि विकास निर्माणको काम अघि बढाउनु पर्छ । विना योजना हचुवा शैलीको विकासले प्रतिफल दिन सक्दैन । रामेछाप नगरलाई समृद्ध बनाउने आधार भनेको कृषि, पर्यटन, उद्योग धन्दा कलकाराखाना स्थापना नै हो । अर्को कुरा नगरभित्र रहेको स्रोत साधनको उचित परिचालन पनि हो । नगरपालिकाभित्र आर्थिक आम्दानीको स्रोत निकै न्यून छ । संघ र प्रदेश सरकारसँग नै परनिर्भर हुनुपर्ने अवस्था छ । अब नगरपालिकाले आन्तरिक आम्दानीको स्रोतको दायर बढाउनु पर्छ, यसलाई बढाउने योजना हामीले बनाएका छौं । समृद्धिको सपना पूरा गर्नको लागि ढृढ इच्छा शक्तिको खाँचो पर्दछ । त्यसैगरी विकास निर्माणको हरेक काममा स्थानीय नागरिकको स्वामित्व हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसबाट स्थानीयले रोजगारी पाउनुको साथै निर्माण गरिएको संरचनाको संरक्षण र व्यवस्थापनमा समेत सहयोग पुग्नेछ ।

गत निर्वाचनमा पराजित भएपछि यस अवधिमा जनताको मन जित्ने के काम गर्नुभयो ?
–चुनाव हारे पनि मैले जनताको साथ छोडिन । यस पाँच बर्ष जनताकै बीचमा रहेर काम गरे । दुःख सुखमा जनतासँगै रहे । सकेको साथ र सहयोग गरे । गत चुनावमा एक सय मतको पराजित हुन पुगेपनि पाँच बर्षका अवधिमा जनताको मन जित्ने गरी काम गरे भन्ने मेरो दावी छ । उदाहरणको रुपमा जिल्ला अस्पतालमा तीन बर्ष अध्यक्ष भएर गरेको कामलाई अघि सार्न चाहन्छु । सामान्य सेवा सुविधा पनि लिन नसक्ने अवस्था रहेका जिल्ला अस्पतालाई रामेछापलाई अहिले सेवा सुविधा सम्पन्न बनाउने कार्यमा भूमिका निर्वाह गरेको छ । सामान्य उपचारको लागि राजधानी काठमाडौं जानु पर्ने बाँध्यता अहिले हटेको छ । सुत्केरीको शल्यक्रिया अहिले अस्पतालबाटै सुरु भएको छ । विशेषज्ञ डाक्टरसहितको सेवा अस्पताले दिएको छ । यो सबैको साथ र सहयोगबाट सम्भव भएको हो । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कामको रुपमा अस्पताल सञ्चालनलाई लिन सकिन्छ । यसबाट नागरिक खुसी छन् । यो काम मेरो लागि पनि गर्वको विषय हो । सबैको साथ र सहयोगबाट आज जिल्ला अस्पतालाई सेवा सुविधा थप गरेर राम्रो बनाउन सफल भएका छौं ।

तपाईको कार्यकालमा जिल्ला अस्पतालमा सुधारका के–के काम भए ?
तीन बर्ष जिल्ला अस्पतालको अध्यक्ष भएर काम गरे । जिल्लाभरीका नागरिकलाई जिल्लाभित्रै स्वास्थ्य सेवा दिनुपर्छ भनेर लागे । तीन बर्षे कार्यकालमा अस्पतालको मुहार फेर्ने काम भयो । नाम जिल्ला अस्पताल थियो । तर काम हेर्ने हो दुई चार वडालाई मात्र सेवा दिदै आएको थियो । राज्यले धेरै खालको सेवा दिएपनि नागरिकले महुशस गर्न पाएका थिएनन । आम नागरिक सेवाबाट बञ्चित थिए । मलाई बागमती प्रदेश सरकारले अस्पतालको अध्यक्षमा नियुक्त गर्दा एउटा मिसन लिएर हिडेको थिए । विशेषज्ञ डाक्टरसहितको सेवा जिल्ला अस्पतालमा हुनुपर्छ भन्ने मेरो अठोट थियो । रामेछापका नागरिकले जिल्ला अस्पतालबाट आधारभुत स्वास्थ्य सेवा पाउन भन्ने चाहना थियो । चार पाँच घण्टा लगाएर सामान्य उपचारको लागि काठमाडौं धाउनु पर्ने रामेछापवासीले अहिले जिल्ला अस्पालबाटै सेवा पाएका छन् । अहिले प्रसुति सेवा अन्तर्गत शल्यक्रियाको सुविधा अस्पतालमा सञ्चालन भएको छ । गर्भवती महिला र बच्चाको अकालमै ज्यान जाने खतरा अन्त्य भएको छ ।
कोभिडको महामारीको कारण रामेछाप पनि अछुतो रहन सकेन । हामीले त्यस्तो संकटको घडीमा पनि अक्सिन अभाव हुन दिएनौ । अक्सिजनका लागि हामी विराटनगर, ढल्केबर, धुलिखेल धायौ । त्यति बेला हामीले चाहेकोजती अक्सिजन नपाए पनि अस्पतालमा भने अक्सिन अभाव हुन दिएनौ । अक्सिनकै कारण कोभिडका बिरामीले ज्यान जानु पर्ने अवस्था सृजना हुन दिएनौ । अहिले बागमती प्रदेश सरकारको सहयोगमा १ करोड ३० लाख लागतमा रामेछाप जिल्लामै पहिलो अक्सिजन प्लान स्थापना भएर सञ्चालनमा आएको छ । यसबाट रामेछाप जिल्लाभित्र मात्र होइन, छिमेकी जिल्लामा पनि अक्सिजन दिन सक्ने भएका छौं । कोभिडको बेला पिसिआर ल्याब नहुँदा धेरै संकट झेल्नु प¥यो । अहिले पिसिआर मेसिन जडान गरिएको छ । अस्पतालमा आँखा र दाँतको सेवा दिएन, अहिले त्यो सेवा सुरु भएको छ । २७ करोड लागतको आधुनिक अस्पताल भवन निर्माण भएर त्यहाँबाट सेवा प्रवाह भएको छ । अहिले रामेछापवासीले मात्र होइन, छिमेकी जिल्लावासीले पनि सेवा लिने अस्पतालको रुपमा विकास भएको छ । यति हुँदा हुँदै पनि जिल्ला अस्पतालमा केही चुनौतीहरु छन् । विशषेज्ञ डाक्टर सहितको सेवा हामी सधै प्रभाह गर्न सक्छौ कि सक्दैनौ ?

तपाई रामेछाप नगरपालिकालाई कस्तो बनाउन चाहनुहुन्छ ?
रामेछाप नगरपालिकालाई समृद्ध बनाउन पार्टीले मलाई अघि सारेको छ । केही चुनौती र अवसर पक्कै पनि छन् । हामीले समृद्ध नगरपालिका बनाउने अठोटसहितको योजना बनाएका छौं । रामेछाप नगरपालिका ऐतिहासिक भूमि पनि हो । रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा छ । धेरै वडाहरु नगरपालिकाको केन्द्रबाट टाढा टाढा छन् । धेरै वडाहरु कर्णालीजस्तो वडाको रुपम रहेको चित्रण गर्ने गरेका छन् । यसलाई निराकरण गर्न जितेपछि पहिलो बर्ष नै सडकको स्तरउन्नतीमा विशेष ध्यान दिनेछौं । सडकको अवस्था सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि नगरवस सञ्चालन गर्नेछौं । नगरपालिकाका मुख्य सडकहरु पनि बाह्रै महिना चल्न सक्ने खालका छैनन्, ती सडकलाई स्तरउन्नती गरेर व्यवस्थित गर्ने योजना बनाएका छौं । सकेसम्म नगरपालिकाको मुख्य सडक कालोपत्रे गछौं । ऐतिहासिक पुरानो बजारको रुपमा विकसित गर्नेछौ । यसलाई चक्रपथ मार्फत जोडेर लैजाने छौं । व्यस्थित बजार निर्माण गर्नेछौं ।

शिक्षा क्षेत्रमा प्राविधिक र व्यवसायिक शिक्षाको खाँचो छ । जिल्ला अस्पताल छ । त्यसको आधारमा हामीले एमबिविएसको कक्षा सञ्चालन गर्ने योजना बनाएका छौं । शिक्षा क्षेत्रमा नगरपालिकाभित्र भौतिक पूर्वाधारहरु अत्यन्तै राम्रो रहेपनि पढनपाठन गर्ने विद्यार्थीको अभाव छ । शैक्षिक गुणस्तर माथि उठाउन सकेका छैनौ । शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शैक्षिक क्षेत्र सुधारको लागि आवश्यक तालिम लिन सकिरहेका छैनन् ।
नगरपालिकालाई समृद्ध बनाउन योजना र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छा शक्ति चाहिन्छ । सरकारले बृद्धबृद्धा एवं अपाङता भएका व्यक्तिहरुलाई भत्ता दिएको छ । तर उहाँहरुले स्वास्थ्य सेवा सहज रुपमा पाउन सक्नुभएको छैन् । अब हामीले प्रत्येक तीन÷तीन महिनामा विशषेज्ञ डाक्टरसहित टोलटोलमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने योजना बनाएका छौं ।

कृषि क्षेत्रको विकास गर्ने यो अवधारणा बनाउनु भएको छ ?
–रामेछाप नगरपालिका कृषि प्रधान नगरपालिका पनि हो । आम रुपमा रोजगारीको लागि धेरै युवाहरु विदेश जान बाँध्य छन् । आमा बुबा, छोराछोरी, साथी भाई छोडेर विदेशी भूमिमा पसिना चुहाउन जाने गरेका छन् । हामीले पक्कै पनि कृषि क्षेत्रको छुटै योजना बनाएर लागू गर्नेछौं । आज बिरुवा किन्ने नाममा नगरपालिकाका लाखौ रुपैयाँ बाहिर जाने गरेको छ । हामीले नगर स्तरीय नर्सरी स्थापना गरेर रोजगारीसँगै किसानको लागि आवश्यक पर्ने बोट विरुवा उपलब्ध गराउने छौं । जसको कारण नगरपालिकाभित्र किसानले सहज रुपमा बोट विरुवा पाउने छन् । हामीले अब परम्परागत होइन, व्यवसायिक कृषिलाई अघि बढाउने नीति लिएका छौं । एक वडा एक जेटिए राख्ने हाम्रो योजना छ । अब युवाहरुलाई अनुदान होइन ऋण उपलब्ध गराएर बाजो जग्गामा कृषि उत्पादन हुने आधार पहिचान गरेर लगानी गरेर व्यवसायिक खेतीलाई अघि बढाउने छौं ।

पर्यटन क्षेत्रको विकास गने योजना चाही के छ ?
रामेछाप नगरपालिकालाई देशमा मात्र होइन, विदेशमा समेत चिनाउने योजना बनाएका छौं । नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, शहीद गंगालाल श्रेष्ठ जन्मनुभएको भूमि रामेछाप नगरपालिका हो । पुष्पलाल पार्क निर्माणको काम सुरु भएको छ । तर अपेक्षाकृत रुपमा अघि बढन सकेको छैन् । यसलाई छिटो भन्दा छिटो सम्पन्न गरेर रामेछाप नगरपालिमा हजारौको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक ल्याउन सकिन्छ । रामेछाप नगरपालिकाभित्र रहेका ऐतिहासिक मठ मन्दिर, सांस्कृतिक ठाउँहरु रहेका छन् । यी ठाउँको गुरुयोजना बनाएरै विकास गर्ने योजना छ ।

नगरपालिकाभित्र देखा परेको खानेपानीको समाधान गर्ने के योजना छ ?
रामेछाप नगरपालिकाभित्र खानेपानीको समस्या छ । त्यसलाई समाधान गर्न हामीले पहिलो प्राथमिकता दिनेछौं । यो समस्या समाधान गर्नको लागि लिफ्ट मार्फत खानेपानीका आयोजनाहरु सञ्चालन भइरहेका छन् । गत निर्वाचनमाा पराजित भएपनि मैले नगरपालिकाभित्र आफ्ै उपभोक्ता समितिको अध्यक्ष भएर सुरु भएको सुनकोसी लिफ्ट खानेपानी आयोजना यसै बर्ष सम्पन्न हुने चरणम छ । यसबाट रामेछाप नगरवासीले ठूलो राहत पाउने भएका छन् । वडा स्तरमा पनि खानपानी सुरु भएको छ ।

रामेछापको पहिचान बनाएको जुनारको विकास गर्ने के योजना छ ?
जुनारले रामेछाप जिल्लालाई नै चिनाउदै आएको छ । जुनार खेतीलाई अझै पनि व्यवस्थित गर्नुपर्नेछ । जुनारलाई अझै व्यवसायिकरण गर्न सकिएको छैन् । आम किसानहरुले अझै पनि जुनार खेती गर्न ध्यान दिएका छैनन् । यसलाई प्रबद्र्धन गर्नको लागि एक घर चार सय बोट जुनार खेती लगाउने अभियान सञ्चालन गर्ने हाम्रो योजना छ । अहिले पुस माघमा जुनार पाक्छ । त्यति बेला कम मुल्यमा जुनार बेच्नु पर्ने हुन्छ । त्यसो गर्दा किसानले जुनारको मुल्य नपाउने अवस्था छ । यो समस्या समाधान नर्ग चिस्यान केन्द्र बनाएर अफसिजनमा बजारमा पठाउने योजना बनाएका छौं । यसलाई प्रशोधन गरेर जुसको रुपमा बजारमा पठाउन सकिन्छ । यसबाट एकातिर किसानले राम्रो मुल्य पाउछन भने अर्कातिर रोजगारी सृजना हुनेछ । जुनारलाई रामेछापमा उद्योगकै रुपमा विकास गर्ने योजना बनाएका छौं ।

प्रतिक्रिया दिनुहोस्