रामेछापबाट चीन जोडने सुरुङ मार्गको अध्ययन गरिने



२० वैशाख, रामेछाप ।
नेकपा गोकुलगंगा गाउँपालिकाले रामेछापबाट चीनसम्म सुरुङ मार्ग निर्माण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा गाउँपालिकाबाट चीन जोडने सुरुङ मार्ग निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । एमालेले गाउँपालिकाको घ्वाबखोलाबाट चाईनाको फलाटसम्मको सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।

प्रतिबद्धता पत्रमा गाउँपालिकामा २० युनिटसम्म निःशुल्क विद्युत र शुल्क तिर्नलाई विद्युत महसुल संकलन केन्द्रमा धाउन नपर्ने बताएको छ । एमालेको तर्फबाट गोकुलगंगा गाउँपालिका अध्यक्षका उम्मेदवार खड्ग बहादुर सुनुवारले पाँच बर्षे कार्यकालमा निकै राम्रो काम भएको बताउदै अबको पाँच बर्ष गाउँपालिकालाई समृद्ध बनाउने योजना रहेको बताए । उनले जनताको समस्यालाई केन्द्रमा राखेर काम गरेकै कारण रामेछापको आठ वटा स्थानीय तह मध्ये गाउँपालिकालाई नमूनाको रुपमा स्थापित गर्न सफल भएको बताए ।

सुनुवारले पर्यटन, कृषि, पूर्वाधार लगायतको क्षेत्रमा धेरै काम भएको बताउदै अब थप उद्योग धन्दा स्थापना गरेर रोजगारी सृजना गर्ने कामलाई प्राथमिकता दिने बताए । एमालेले जटापोखरी, पाँचपोखरी लगायतका पर्यटकीय सम्भावना बोकेका स्थलको विकास गर्ने बताएको छ ।
एमाले गाउँपालिकामा एमालेले अध्यक्ष पदमा खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठ नेवारलाई उम्मेदवार बनाएको छ ।

यस्तो छ गोकुलगंगाको प्रतिबद्धता पत्र (पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस्