यस्तो छ रामेछापको सुनापति गाउँपालिकामा चुनावी हिसाब, त्रिपक्षीय प्रतिस्पर्धा हुने



२१ वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचन आउन ९ दिन बाँकी रहदा चुनाव कसले जित्छ भन्ने आकंलन र हिसाब सुरु भएको छ । सुनापति गाउँपालिकामा पनि प्रमुख तीन दलबीच चुनावी हिसाब सुरु भएको छ । घरदैलो र चुनावी कार्यक्रमलाई तीब्रता दिएका राजनीतिक दलहरु अहिले जनताको घरघरमा पुगेर भोट माग्ने काममा व्यस्त छन् । चुनावी प्रतिबद्धता बनाएर पाँच बर्षभित्र गर्ने कामको खाका सबै राजनीतिक दलका उम्मेदवारहरुले प्रस्तुत गरिसकेका छन् । जनताले प्रतिवबद्धतासँग गाउँपालिकाको विकास गर्ने उम्मेदवारको खोजी थालेका छन् । गत निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित पाँच वटै वडामा नेकपा माओवादी केन्द्रले जितेको थियो । गाउँपालिकाको २७ पदमा सबै माओवादीका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचनमा होमिएका राजनीतिक दलहरुले चुनावी जित्ने आ–आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् । दलहरुले दावी गरिरहदा तथ्याङ केलाउनु पनि महत्वपूर्ण मानिन्छ । गाउँपालिकामा माओवादीबाट ठूलोकान्छा तामाङ, कांग्रेसबाट कमान (दिपेन्द्र) खडका र नेकपा एमालेबाट ज्ञान कुमार योञ्जनले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

ग्राफिक्सः विवेक श्रेष्ठ

गाउँपालिकाको अध्यक्ष पद नै सबैको चासो र चर्चाको विषय बन्दै आएको छ । ठूलोकान्छा तामाङ यसअघि गाउँपालिकाको वडा नम्बर ५ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्षबाट तामाङ गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न सफल भएका छन् । एक दर्जन भन्दा बढी आकांक्षीलाई पछि पार्दै उनले गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका हुन् । तामाङलाई दजनौ आकांक्षी सहयात्री चित्त बुझाएर अघि बढनु पर्ने चुनौती छ ।

विशेषगरी रामेछापको कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्दै आएको सुनापति गाउँपालिकाबाट यस पटक अध्यक्षका उम्मेदवार छैनन् । गाउँपालिकामा पनि डहु निर्णायक भूमिकामा रहदै आएको थियो । तर गत निर्वाचनमा माओवादीकै उम्मेदवारको विरुद्ध खड्ग घिसिङले बागी उम्मेदवारी दिएर जितेका थिए । यस पटक डहुको भूमिका सुनापतिको निर्वाचनमा निर्णायक नहुने अनुमान सुरु गरिएको छ । अध्यक्षका उम्मेदवार तामाङलाई डहुको साथ लिनु पर्ने चुनौती छ ।

गत निर्वाचनमा सुनापति गाउँपालिकामा माओवादी ४७३६ मत ल्याएर विजयी हुँदा कांग्रेसले कांग्रेसले ३९६६ र एमाले १२०१ मत ल्याएको थियो । गत निर्वाचनको मत परिणाम हेर्ने हो भने माओवादी भन्दा कांग्रेस ७७० मतले पछि परेको थियो । तर पाँच बर्षको अवधिमा सुनापति गाउँपालिकामा राजनीतिक रुपमा धेरै फेरबदल आएको छ । माओवादी र एमालेबीच एकता भएर नेकपा हुँदै पुनः नेकपा विघटन हुँदाको अवस्थामा माओवादीका केही नेताहरु एमालेतिर प्रवेश गरेका छन् ।

नेकपा गठन हुँदा माओवादी रहेका ज्ञान कुमार योञ्जन दुई पार्टी अगल भएपछि एमालेतिर लागेका थिए । सुरुमा एमालेबाट माओवादी प्रवेश गरेका योञ्जन पुनः माओवादी हुँदै एमालेतिर लागेर अहिले गाउँपालिकामा पार्टीको तर्फबाट टिकट पाएका छन् । उनको लागि जित्न गत निर्वाचनको भन्दा तेब्बर मत ल्याउनु पर्ने देखिन्छ । विगतको भन्दा सांगठानिक रुपमा केही मजबुद्ध बनाए पनि जितको लागि धेरै मेहनत गर्नुपर्ने निष्कर्ष स्वयंम एमालेले नै निकाल्दै आएको छ । तर सुनापतिमा जित्न सकिने आधार अडा भएको जानकारी जिल्ला नेतृत्वलाई एमालेका नेताहरुले गराउदै आएका छन् ।

यसैगरी कांग्रेसबाट सुनापति गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका दिपेन्द्र खड्का युवा नेता हुन् । सांगठानिक रुपमा कांग्रेस सुनापति गाउँपालिकामा प्रभाव राख्दै आएको छ । त्यसको बाबजुध पनि गत निर्वाचनमा एउटा पनि वडा सदस्य समेत जित्न सकेको थिएन । यस पटक पनि माओवादी र कांग्रेसबीच सुनापति गाउँपालिकामा चुनावी तालमेलको चर्चा अन्तिम समयमा आएर मिल्न सकेन । विगतकोझैं यस पटक पनि प्रमुख तीन पार्टी एमाले कांग्रेस र माओवादी केन्द्र चुनावी मैदानमा रहेका छन् ।

अध्यक्षका उम्मेदवार खड्का खड्का पालिकाको लागि नयाँ अनुहार हुन् । दर्जनौ आकांक्षीकोबीच पार्टीले विश्वास गरेर खड्कालाई टिकट दिएको बताइएको छ । खड्कालाई पार्टीभित्रका असन्तुष्टि नेताहरुलाई साथ लिएर हिडनु पर्ने चुनौती छ । पार्टीभित्रबाटै सहयोग पाएको अवस्थामा खड्काले निर्वाचन जित्न आधार खडा गर्न सक्नेछन् । कांग्रेसभित्र टिकट नपाएको झोकमा आफ्नै पार्टीका उम्मेदवारलाई हटाउने धेरै खेल हुँदै आएको छ । गत निर्वाचनमा पनि कांग्रेसले आन्तरिक कारणले चुनावमा पराजय भएको निष्कर्ष निकालेको थियो ।

स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा पनि पालिकाको विकास गर्ने व्यक्ति खोज्ने चाहना सुनापति गाउँपालिकावासीमा देखिन्छ । पार्टीको भोटसँगै तटस्थ रहेका मतदाताको भूमिका निर्णायक हुने गरेको छ । गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तीनै जना अध्यक्षका उम्मेदवारहरु यसअघि विवादमा नआएका पात्रहरु हुन् । राजनीतिक दलका उम्मेदवारहरुले जनताको मन कसरी जित्न सक्छन भन्ने विषयले चुनावी परिणाम निर्धारण हुनेछ । चुनावी अभियान, विगतको मतको तथ्याङक र अहिलेको चुनावी महोललाई आधार मान्ने हो भने सुनापति गाउँपालिकामा त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्