रामेछापमा एमालेको प्रतिबद्धता पत्रः बिजुलीका तार अण्डरग्राउण्ड गर्नेदेखि मातलपोतको काम स्थानीय तहबाट गरिने



२१ वैशाख, रामेछाप ।

नेकपा एमाले रामेछापले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई के कामका लागि जिताउने भन्ने आधार र योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले आज रामेछापको मन्थलीमा एक कार्यक्रमकोबीच १९ वटा विषयमा स्थानीय तहका तात्कालिक र दीर्घकालीन कार्यक्रम समेटिएको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, उपसचिव प्रकाश कुमार कार्की सहितका नेताहरुले जिल्लाको आठ वटै स्थानीय तहमा गरिने कामको विषय समावेश गरिएको प्रतिबद्धता पत्र सर्वाजनिक गरेको हुन् ।

स्थानीय तहमा सहज सेवा प्रवाह गर्न प्रविधियुक्त पूर्वाधार निर्माण गर्ने, नागरिकलाई एकीकृत र गुणस्तरीय सेवा प्रवाह गर्ने एमालेले जनाएको छ ।यसै गरी शिक्षा क्षेत्रको लागि गुणस्तरीय भवन, छात्र, छात्रको लागि अलग अलग शौचालय, खानेपानी, कम्प्युटर ल्याब, पुस्तकालयको व्यवस्था गर्ने विषयलाई एमालेले रामेछापले प्राथमिकताका साथ अघि सारेको छ ।

एक गाउँपालिका एक क्याम्पस, प्रत्येक वडामा स्थानीय विशेषतामा आधारित व्यावसायिक शिक्षा, विद्यालय उमेर समूहका सबै विद्यार्थीलाई विद्यालय ल्याउने र विद्यालय छाडेकाहरुका लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।

स्थानीय तहमा विशेषज्ञ सेवा सहितको अस्पताल, लक्षित समुदायलाई अनुदान सहित स्वास्थ्य बिमा, सुत्केरी हुन अस्पताल जाने महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा सहित मातृ तथा शिशु र जेष्ठ नागरिकका लागि स्वास्थ्य र पोषणका विषयलाई पनि एमालेले महत्व दिएको छ ।

स्वच्छ खानेपानीको लागि एक घर एक धारा, खुल्ला दिशामुक्त जिल्ला, टोल टोलमा सार्वजनिक शौचालय निर्माणको कार्यक्रम पहिलो वर्षबाटै प्रारम्भ गरिने जनाईएको छ ।हरेक वडाबाट पालिकाको केन्द्रसम्म जोड्ने सबै सडक कालोपत्रे गर्ने, महत्त्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थलसम्म सडक पुर्‍याउने प्रतिवद्धता एमालेले गरेको छ ।

विद्युत सेवा पुग्न बाँकी जिल्लाका बस्तीमा विद्युतीकरण गर्ने, बजार क्षेत्रमा बिजुलीका तारहरुलाई अण्डरग्राउण्ड (भूमीगत) गर्ने, जिल्लामा जलविद्युत उत्पादनको सम्भावना रहेका क्षेत्रमा विद्युत् आयोजना निर्माणको पहल गर्ने, महत्पूर्ण सडक र सार्वजनिक स्थलमा सौर्य ऊर्जाको प्रयोग मार्फत स्मार्ट विद्युतीकरण कार्यक्रम लागू गर्ने एमालेले जनाएको छ ।

सिँचाई सुविधा नपुगेको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी सिँचाई सुविधा पुर्‍याउने, पानीका स्रोत र जलाधार संरक्षणको लागि आवश्यक नीति बनाई कार्यान्वयन गराउने, नदीका तटीय क्षेत्रमा तटबन्धको व्यवस्था मिलाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।कृषि र पशुपन्छीको लागि उत्पादन पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषक परिचयपत्र जारी गरी सहयोग गर्ने, बाली र पशु बीमा कार्यक्रमलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा काम गर्ने एमालेले जनाएको छ ।

‘पालिका केन्द्रमा व्यवस्थित सहर वडा केन्द्रमा व्यवस्थित बजार’को अवधारणा पनि एमालेले ल्याएको छ । राजमार्ग आसपासमा नयाँ सहरी बस्ती विकासको योजना पनि समेटिएको छ ।भूमि व्यवस्थापन, सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने (भूमी हिनलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने) जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्ने, नापी र मालपोतको काम स्थानीय तहबाट नै गर्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।

एक स्थानीय तह एक पर्यटन गन्तव्यको नीति अवलम्बन गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि एमालेले गरेको छ । पर्यटन क्षेत्रको विकासमा सार्वजनिक–निजी साझेदारीको नीति अवलम्बन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्