यस्तो छ खाँडादेवी गाउँपालिकामा चुनावी हिसाब, कसले मार्ला बाजी ? 



स्नेहा सिलवाल 

२३ वैशाख, काठमाडाै‌ । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जादा खाँडादेवी गाउँपालिकामा पनि राजनीतिक दलहरुले चुनावी अभियानलाई तीब्रता दिएका छन् । उम्मेदवारी दर्तासँग अहिले भोट माग्न उम्मेदवरहरु घर घरमा पुगेका छन् । खाँडादेवी गाउँपलिकामा यसअघि नेकपा एमालेले जितेको थियो । नौ वटा वडा रहेको पालिकामा राजनीतिक दलहरुले चुनाव जित्न उपायदेखि लिएर चुनावी हिसाब समेत निकाल्न थालेका छन् । गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी विशेषगरी चुनावी मैदानमा होमिएका थिए ।

त्यति बेला एमाले र माओवादीकोबीचमा चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले कांग्रेसलाई १ हजार ६२६ मतअन्तरले चुनवाी जितेको थियो । विशेषगरी पालिकामा एमाले, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यस पटक माओवादीले कांग्रेसँग गठबन्धन गरेको कारण उपाध्यक्ष लिएर कांग्रेसलाई अध्यक्षमा सघाउने भएको छ । खाँडादेवीमा एमाले र कांग्रेसकै बीचमा चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेकपा एकीकृत समाजवादीले पनि यस पटक पालिकामा आफूहरु बलियो शक्तिको रुपमा रहेको दावी गर्दै आएको छ ।
एमालेले ज्ञान कुमार श्रेष्ठलाई पालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । तत्कालिन भिरपानी गाविसका अध्यक्ष समेत भएर काम गरेका श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएका छ । उनी खाँडोदवी गाउँपालिकाका स्थापित नेता हुन् । पार्टीभित्रका आकांक्षीलाई पछि पार्दै श्रेष्ठले टिकट लिएका छन् । पालिकाभित्र एमालेको सांगठानिक उपस्थिति बलियो रहेको निष्कर्ष एमालेले निकाल्दै चुनाव जित्ने हिसाब निकालेको छ ।

एमालेले यसअघि चुनाव जितेर राम्रो काम गरेको र सांगठानिक अवस्था विगतको भन्दा राम्रो बनेको निष्कर्ष सहित चुनाव जित्न आधार रहेको दावी गर्दै आएको छ । तर एमालेका लागि यसपटक नेकपा एकीकृत समाजवादी पनि चुनावी मैदानमा रहेको छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले पनि पालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले एमालेको केही भोट काटन सक्ने चुनौती एमालेलाई देखिएको छ । गत निर्वाचनमा एमालेले ४ हजार ८७० मत ल्याएर निर्वाचन जितेको थियो ।

कांग्रेसबाट पालिकाको अध्यक्षमा नवराज थोकर उम्मेदवार रहेका छन् । थोकरलाई माओवादीले साथ दिएको छ । पालिकामा अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो । कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएको छ । नेपाली कांग्रेस रामेछापका उपसभापति समेत रहेका थोकर यस पटक निर्वाचत जित्नेमा ढुक्क छन् । माओवादीको मतलाई जोडेर उनले चुनावी जित्ने आधार तय गरेका छन् । गत निर्वाचनमा कांग्रेसले ३ हजार २४४ मत प्राप्त गरेको थियो भने माओवादीले ३ हजार १३८ मत प्राप्त गरेको थियो । गत निर्वाचनमा दुई पाटीको मत जोडदा ६ हजार ३८२ हुन्छ । यसलाई नै आधार बनाएर केही मत बढाउन सकिने नीतिमा कांग्रेस र माओवादी लागेका छन् ।
यस पटकको निर्वाचनमा खाँडादेवी गाउँपालिका २२ हजार ४ सय मतदाता रहेका छन् । चुनाव जित्नका लागि झण्डै साढे छ हजार मत ल्याउनु पर्ने अनुमान गरिएको छ । चुनाव जित्नको लागि एमालेले गत निर्वाचनको भन्दा दुई हजार मत बढाउनु पर्ने देखिन्छ भने कांग्रेस माओवादीले पन्ध्र सय भन्दा बढी मत थप्नु पर्ने हुन्छ । दुई पार्टीभित्र गठबन्धन भएपनि भोट हाल्ने नहाल्ने शंका कायमै रहेको बताइएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट श्यामकृष्ण  श्रेष्ठ पालिकाको अध्यक्षका उम्मेदवारको रुपमा रहेका छन् । रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच भएको सिट बाँडफाँडमा खाँडादेवी गाउँपालिकामा एकीकृत समाजवादीले अध्यक्ष लिने र माओवादीले उपाध्यक्ष लिने गरी उम्मेदवारी दर्ता भएको थियो । तर अन्तिम अवस्थामा आएर माओवादीले कांग्रेसलाई समर्थन गरेपछि एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा रहेको छ । एमाले र कांग्रेससँग चुनावी मैदानमा उत्रिन एकीकृत समाजवादीलाई भने चुनौती देखिएको छ । गत निर्वाचनमा खाँडादेवी गाउँपालिकामा १७ हजार १५४ मतदाता म मध्ये १२ हजार १६० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्