पाँच बर्ष इमान्दार भएर जनताको सेवामा लाग्नेछुः सुनुवार (भिडियो)



२४ वैशाख, रामेछाप ।
नेकपा एमाले गोकुलगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार खड्ग बहादुर सुनुवारले अबको पाँच बर्षमा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । गत पाँच बर्षे कार्यालयमा गत निर्वाचनमा गरिएको मध्ये ९० प्रतिशत प्रतिबद्धता पूरा गरिएको बताउदै पालिकालाई समृद्ध बनाउने आधार तयार गरिएको बताएका हुन् । यसै सन्दर्भमा एमालेबाट अध्यक्षका उम्मेदवार खड्गबहादुर सुनुवारसँग गरिएको कुराकानीः

पाँच बर्षमा यसअघि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार के–के काम गर्नुभयो ?

–चुनावमा गरेको प्रतिबद्धता अनुसार ९० प्रतिशत काम सम्पन्न गरेका छौं । पूर्वाधार स्वास्थ्य शिक्षा र कृषि क्षेत्रको विकास गर्नको लागि बनाएको योजना कार्यान्वयन गरिएको छ । काम गरेकै कारण मलाई पार्टीले टिकट दिएको छ । ४१ वटा भवनहरु गाउँपालिकाकै लगानीमा निर्माण सम्पन्न भएको छ । रामेछाप जिल्लाको नमूना गाउँपालिका बनेको छ । स्वास्थ्य भवन निर्माणमा ध्यान दिएका छौं । पाँच सय किलोमिटर सडक निर्माण गरेका छौं । तीन सय किलोमिटर सडक सोलिङ गरेका छौं । अहिले हिउद बर्षाको समयमा नै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था सृजना गरेका छौं । ६० वटा भन्दा बढी कानुन निर्माण गरेका छौं । योजनाबद्ध रुपमा विकास गरेकै कारण गाउँपालिकामा विकास निर्माणको जग हाल्ने गरेका छौं । जनतालाई परिवर्तनको आभाष हुने गरी काम गरेका छौं । एक घर एक घारा अन्तर्गत ४ हजार घरमा धारा पु¥याएका छौ, बाँकी चार हजार घरमा पनि पुर्याउने योजना बनाएका छौं । विपद् व्यवस्थापनको काममा पनि गाउँपालिकाले प्रभावकारी काम गरेका छौं ।

फेरि पनि चुनावी जित्ने तपाईको आधार के हो ?
पहिलो कुरा त पाँच बर्षमा गरेको काम हो । दोस्रो कुरा जनताकोबीचमा रहेर विकास निर्माणको कामबाट जनता खुसी छन् । कामको आधारमा जनताले नै चाहेका छन् । पाँच बर्षमा धेरै अनुभव बटुलेका छौं, अब पुनः निर्वाचित भएको अवस्थामा अहिले गरेको दोब्बर काम गर्न सकिन्छ । जनताको विश्वास पनि ठूलो कुरा हो । हामीले जित्ने आधार भनेको जनताले हामीप्रति देखाएको विश्वास र माया पनि हो ।

गाउँपालिकावासीलाई तपाईको के आग्रह छ ?
–मैले पाँच बर्ष जुन काम गरेर अनुभव बटुलेको छु । अब निर्वाचित भएपछि अहिलेकैजस्तो इमानदार भएर जनताको सेवामा खटिनेछु । प्रतिपक्षले पनि हामीलाई समर्थन गर्नुपर्छ । हामीले गरिब वर्गलाई सेवा पुग्ने योजना बनाएको छु । पालिकाभित्रका सात हजार पाँच सय घरधुरीलाई विद्युत निशुल्क उपलब्ध गराउन पहल गर्नेछु । अस्पतालाई थप स्तरउन्ती गरेर सेवा सुविधा पुग्ने योजना बनाएका छौं । कृषि क्षेत्रको विकासको लागि हामीले पहिलो प्राथमिकता दिएको छौं । शिक्षा क्षेत्रमा पाँच बर्षमा सामुदायिक विद्यालयलाई अपेक्षाकृत रुपमा परिवर्तन गर्न सकेका छैनौ । प्रविधिमैत्री गाउँपालिका बनाउने योजना अघि सारेका छौं । सबै कार्यालयमा वाइफाई सेवा निशुल्क रुपमा प्रवाह गरिन्छ । विद्यालयलाई बजेट बढाउनु पर्ने आवश्यकता छ । उच्च शिक्षा बाहेकको तल्लो तहको शिक्षालाई गुणस्तरीय बनाउनु योजना छ ।

के गर्दा गाउँपालिकाको विकास गर्न सकिदो रहेछ ?
कृषि पर्यटन, उद्योग धन्दा, जलस्रोत, प्राकृतिक सम्पदाभित्र रहेका खानी खनिज पदार्थ, वन जडिबुटीको एकीकृत योजना बनाएर जानु पर्छ । प्राकृतिक सम्पदाको उचित प्रयोग गरेर मात्र समृद्ध बनाउन सकिन्छ । पर्यटन, उद्योग, कृषि गाउँपालिकाको समृद्धको आधार हो । यसको लागि सबै नागरिकहरु सामुहिक रुपमा लाग्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्