रामेछाप नगरपालिकामा सुरु भयो चुनावी हिसाब, त्रिपक्षीय प्रतिस्पर्धामा कसले जित्ला ?



२६ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकामा राजनीतिक दलहरुबीच चुनावी हिसाब सुरु भएको छ । चुनावी अभियानसँगै नौ वटै वडामा घरदैलो र चुनावी सभा गरेसँगै राजनीतिक दलहरुले चुनाव जित्न आवश्यक पर्ने मत र वडा तहमा रहेका मतको लेखाजोखा सुरु गरेका हुन् ।

ग्राफिक्सः विवेक श्रेष्ठ

रामेछाप नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा रामेछाप नगरपालिकामा कांग्रेसले जितेको छ । कांग्रेसले एमालेलाई एक सय मन्तर्गतले जितेको हो । राजनीतिक दलहरुको चुनाबी हिसाबसँगै स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवार दिएका व्यक्तिको प्रभावलाई समेत हेर्ने छन् ।

२४ हजार ९३१ मतदाता रहेको रामेछाप नगरपालिकामा कांग्रेसबाट लवश्री न्यौपाने, एमालेबाट रोशन पाख्रिन र माओवादीबाट नरेशबाबु श्रेष्ठ नगरप्रमुखको उम्मेदवार रहेका छन् । श्रेष्ठलाई नेकपा एकीकृत समाजवादीको साथ रहेको छ । स्थानीय निर्वाचनको मिति नजिकदै गर्दा २०७४ को निर्वाचनलाई पनि फर्कर हेर्नुपर्ने हुन्छ ।

गत निर्वाचनको मतपरिणाम हेर्दा कांग्रेसले ४४०१ मत ल्याउदा एमालेले ४३०० मत ल्याएको थियो । माओवादी तेस्रो स्थानमा रहेर ३००२ मत प्राप्त गरेको थियो । गत निर्वाचनमा कांग्रेस र एमालेबीच निकै रोचक प्रतिस्पर्धा भएको थियो । २०७४को निर्वाचनमा १८ हजार ९४८ मतदाता रहेका थिए । जस मध्ये १२ हजार ९७० मत खसेको थियो ।

नगरपालिकामा तीन पार्टीले नै निर्वाचन जित्ने दावी गर्दै आएका छन् । यस पटक एमालेले गत निर्वाचनमा एक सय मतको कारणले मात्र पराजित भएको निष्कर्ष सहित चुनाव जित्ने निष्कर्ष निकालेको छ । गत निर्वाचनमा वडा तहमा खसेको भन्दा रोशन पाख्रिनले व्यक्तिगत लोकप्रिययताको मत बढी ल्याएका थिए ।

निर्वाचनमा पराजित भएपनि पाख्रिन पाँच बर्ष जनताकैबीचमा बसेर काम गरेकाले चुनाव जित्नेमा विश्वस्त देखिन्छन । तीन बर्ष जिल्ला अस्पताल रामेछापका अध्यक्ष हुँदा पाख्रिनले अस्पतालाई सेवा सुविधा विस्तारमा खेलेकोे भूमिकाको कारण नगरवासीको मन जित्न सफल भएका थिए । उनले कोभिडको बेला चरम अक्सिजनको अभाव हुँदा आफै सिलिण्डर भर्नको लागि अन्य जिल्ला धाएका थिए ।

उनको पहलमा अहिले जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट, पिसिआर ल्याब स्थापना, भेन्टिलेटर, आइसीयू लगायतका सेवा सुरु भएको छ । जिल्ला अस्पताललाई सेवा विस्तारमा निर्वाह गरेको कामको कारण पाख्रिन रामेछाप नगरपालिकामा लोकप्रिय छन् । राजनीतिसँगै सामाजिक कार्यमा पनि सक्रिय पाख्रिन विगतको भन्दा पार्टीको उपस्थित बलियो बनेको र जनताले पनि रुचाएको कारण जित्नेमा विश्वस्त देखिएका छन् ।

त्यसैगरी निर्वतमान कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने रामेछाप नगरपालिकामा कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार छन् । लामो समय राजनीतिमा सक्रिय रहदै आएका न्यौपाने पनि विगतमा पार्टीले नै जितेको हुनाले यस पटक पनि जित्नेमा आशावादी देखिएका छन् । उनले पार्टीको सांगठानिक अवस्थाको कारण चुनाव जित्ने हिसाब निकालेका छन् । रामेछाप नगरपालिका निवासी न्यौपाने विगत लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका छन् ।

नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार बनेका नरेशबाबु श्रेष्ठ पनि रामेछापका स्थापित नेता हुन् । राजनीतिसँगै सामाजिक कार्यक्रम सक्रिय रहदै आएका श्रेष्ठले यस पटक अन्य आकांक्षीलाई पछि पार्दै टिकट लिन सफल भएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीको समर्थन गरहेको छ । माओवादीले नगर प्रमुख र एककिृत समाजवादीले नगरउप्रमुख लिएर दुई दलबीच चुनावी तालमेल भएको थियो । समाजवादीको भोट थपेर यस पटक चुनाव जित्ने दावी श्रेष्ठले गर्दै आएका छन् ।

यस पटक २४ हजार ९३१ मतदाता रहेको रामेछाप नगरपालिकामा झण्डै १८देखि २० हजार मत खस्ने अनुमान गरिएको छ । यसरी हेर्दा यस पटक नगरप्रमुखको चुनाव जित्नको लागि ६ हजार भन्दा बढी मत ल्याउनु पर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्