दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी र एमालेबीच कसले जित्ला ?



२७ वैशाख, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा यस पटक दुई पार्टीबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । माओवादीबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तान र एमालेबाट पालिका अध्यक्षको उम्मेदवारी दिएका टंक चौलागाईबीच कडा प्रतिस्पर्धा हुने भएको हो । चुनाव आउन तीन दिन मात्र बाँकी रहदा पालिकाभित्र चुनावी हिसाब सुरु भएको छ ।

सुरुमा कांग्रेसबाट मान बहादुर लामाले अध्यक्षको लागि उम्मेदवारी दिए पनि अन्तिम अवस्थामा आएर उम्मेदवारी फिर्ता लिदै मैन कुमार मोक्तानलाई समर्थन गर्ने निर्णय गरेका थिए । दोरम्बामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर सिट बाँडफाँड गरेका छन् । पालिकाको सात वटै वडामा चुनावी अभियान सम्पन्न गरेका राजनीतिक दलहरुबीच वडा तहमा भोटको लेखाजोखा सुरु भएको छ ।

ग्राफिक्सः विवेक श्रेष्ठ

पालिकामा यस पटक दुई पार्टीबीच नै प्रतिस्पर्धा हुनेछ । पालिकामा माओवादीबाट अध्यक्षका उम्मेदवार रहेका मोक्तानलाई आफ्नै पार्टीभित्रको असन्तुष्ट पक्षलाई समेटेर अघि बढनु पर्ने चुनौती रहेको छ । गत निर्वाचनमा चुनाव जितेको माओवादीले यस पटक पनि चुनाव जित्ने दावी गर्दै आएको छ ।

तर माओवादीभित्रको असन्तुष्ट यशु चौलागाईसहितको समुहलाई साथ लिएर हिडने चुनौती माओवादीभित्र देखा परेको छ । अध्यक्षको उम्मेदवारीमा दावी गरेको चौलागाईले टिकट नपाएपछि अहिले उनी पार्टीको अभियानमा नै सहभागी भएका छैनन् । तर माओवादीले पार्टीभित्र असन्तुष्टि भएपछि पार्टीभित्रको मत र कांग्रेसबाट केही मत थपेर चुनाव जित्ने आकलन गरेको छ ।

गत निर्वाचनमा माओवादीले ४१४१ मत ल्याउदा एमालेले ३७६३ मत ल्याएको थियो । कांग्रेसले भने २३८४ मत ल्याएर तेस्रो बनेको थियो ।
पाँच बर्षको अवधिमा पालिकामा राजनीतिक समिकरण बदलिएको छ ।एमालेबाट टंक चौलागाई पनि बलियो उम्मेदवार हुन् । चुनावी अभियानमा एमालेको पक्षमा महोल बनाउन एमालेका नेता कार्यकर्ताहरु एकताबद्ध भएर लागेका छन् । यस पटक चुनाव जित्ने हिसाब एमालेले निकालेको छ । एमालेले माओवादीभित्र असन्तुष्ट पक्ष र कांग्रेसको सहित मत आफ्नो पार्टीलाई आउने निष्कर्ष निकालेको छ । अध्यक्षका उम्मेदवार चौलागाईलाई एमालेका नेता रत्न गौतमको बलियो साथ रहेको छ ।

२० हजार ५५६ मतदाता रहेको पालिकामा यस पटक १४ देखि १६ हजारसम्म मत खस्ने अनुमान गरिएको छ । गत निर्वाचनको मतपरिणाम २०७४को निर्वाचनमा पालिकामा १५ हजार ९५५ मतदाता रहेका थिए । त्यति बेला ११ हजार ३५३ मत खसेको थियो ।
यस पटक पालिकाको अध्यक्ष जित्नका लागि ६ हजारदेखि ६५ सयसम्म मत ल्याउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्