मन्थली नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने, कसले मार्ला बाजी ?



२७ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा चुनावी अभियान सम्पन्न भएसँगै राजनीतिक दलहरु चुनावी हिसाबमा जुटेका छन् । १४ वटा वडा रहेको मन्थली जिल्लाकै धेरै मतदाता रहेको नगरपालिका हो । नगरपालिकामा यस पटकको चुनावमा तीन दलबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

ग्राफिक्सः विवेक श्रेष्ठ

यसअघि एमालेले जितेको नगरपालिकामा एमालेले विरासत जोगाउने नीति लिएको छ भने कांग्रेसले जसरी पनि जित्ने दावी गर्दै आएको छ । गत निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादीले पनि यस पटक नेकपा एकीकृत समाजवादीको साथ लिएर चुनाव जित्ने हिसाब निकालेको छ । एमालेबाट लव श्रेष्ठ, कांग्रेसबाट विनोद कार्की र माओवादीबाट दीपक प्रसाइ नगरप्रमुखको उम्मेदवार रहेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका कार्की गत निर्वाचनमा पनि नगरप्रमुखमा चुनाव लडेका थिए । श्रेष्ठ र प्रसाई भने यस पटक नयाँ अनुहार हुन् । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा यस पटक चुनाव जित्ने तीन दलले आ–आफ्नो दावी गर्दै आएका छन् ।

यस पटकको चुनावमा मन्थली नगरपालिकामा ३७ हजार २२० मतदाता रहेका छन् । यस पटक झण्डै २५ हजार भन्दा बढी मत खस्ने अनुमान गरिएको । चुनाव जित्नको लागि ९ हजार भन्दा बढी भोट ल्याउनु पर्ने आकलन गरिएको छ । गत निर्वाचनमा एमालेले ६५२९, कांग्रेसले ५३७९ र माओवादीले ५३११ मत ल्याएको थियो । २०७४को निर्वाचनमा २७ हजार ६३७ मतदाता मध्ये १९ हजार ४९२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्