स्थानीय निर्वाचनः रामेछापको लिखु तामाकोसी गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा



२७ वैशाख, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा एमालेले जितेको पालिकामा यस पटक तीन पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो । कांग्रेस, एमाले र एकीकृत समाजवादी तीन वटै दलहरु चुनावी अभियान सम्पन्न गरेर चुनावी हिसाबमा जुटेका छन् ।

एमालेलाइ यस पटक पनि चुनाव जित्नु पर्ने चुनौती रहेको छ भने गत निर्वाचनमा पराजित भएको कांग्रेसले पनि चुनाव जित्ने दावी गर्दै आएको छ । माओवादीको साथ पाएको एकीकृत समाजवादीले पनि चुनाव जित्ने हिसाब गर्दै आएको छ । लिखु तामाकोसी गाउँपालिकामा एमालेबाट कमल प्रसाद कडरिया, कांग्रेसबाट केशव महत र नेकपा एकीकृत समाजवादीबाट नवराज पौडेल गाउँपालिकाका अध्यक्षका उम्मेदवार रहेका छन् ।

गत निर्वाचनमा एमालेले ४५९५, कांग्रेसले २४७४ र माओवादी १८७५ मत ल्याएको थियो । गत निर्वाचनमा तेस्रो शक्ति बनेको माओवादीले अध्यक्षमा एकीकृत समाजवादीलाई समर्थन गर्दै उपाध्यक्ष लिएको छ । २०७४को निर्वाचनमा १५ हजार १८३ मतदाता मध्ये १० हजार २५३ मत खसेको थियो । वैशाख ३० गते हुने निर्वाचनमा २० हजार १०० सय मतदाता रहेका छन् । जस मध्ये १५ हजार मत खस्ने अनुमान गरिएको छ । यस पटक निर्वाचन जित्नको लागि करिब ६ हजार मत कटाउनु पर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्