स्थानीय निर्वाचनः गोकुलगंगा गाउँपालिकामा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा हुने



२७ वैशाख, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा पालिका एमालेले जितेको थियो । यस पटक गत निर्वाचनमा निर्वाचित भएका खड्क बहादुर सुनुवार पुनः एमालेबाट पालिकाको अध्यक्षका उम्मेदवार छन् ।

कांग्रेसबाट काजीबहादुर खड्का र नेकपा एकीकृत समाजवादीबाट रुद्र फ्याल अध्यक्षका उम्मेदवार रहेका छन् । अध्यक्षमा तीन जनाको उम्मेदवार रहेपनि विशेषगरी पालिकामा यस पटक एमाले र कांग्रेसकैबीचमा चुनावी प्रतिस्पर्धा हुने बताइएको छ । गत निर्वाचनमा जितेर पाँच बर्ष राम्रो काम गरेकाले यस पटक पनि चुनाव जित्ने एमालेको दावी रहेको छ भने कांग्रेसले पनि यस पटक चुनाव जित्ने हिसाब निकालेको छ । दुई दलबीच यस पटक रोचक प्रतिस्पर्धा हुने भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले ३५५१, कांग्रेसले ३१५२ र माओवादी १४१० मत प्राप्त गरेको थियो । यस पटक माओवादीले उपाध्यक्ष लिएर अध्यक्षमा एकीकृत समाजवादीलाई सघाएको छ । गत निर्वाचनमा १३ हजार ७५२ मतदाता मध्ये ९ हजार ३४८ मत खसेको थियो । यस पटक १८ हजार ५२१ मतदाता रहेका थिए । यस पटक १५ हजार मत खस्ने आकलन गरिएको छ । चुनाव जित्नका लागि पाँच हजार मत कटाउनु पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्