रामेछापमा आचारसंहिता ‘अचार’ मौन अवधिमा सामाजिक सञ्जालबाट भोट माग्ने प्रतिस्पर्धा



२९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको छ । मौन अवधिमा भोट माग्न नपाइने र चुनाव प्रचार प्रसारको काम गर्न नपाइने भएपनि राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् । सरकारले सामाजिक सञ्जालको निगरानी गर्न नेपाल प्रहरी र नेपाली सेनालाई जिम्मेवारी दिएपनि नियमनको प्रक्रिया प्रभावकारी बन्न सकेको छैन् ।

लाखौंको संख्यामा सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताको निगरानी गर्नको लागि कठिन भएको रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्ट बताउछन । उनले रामेछाप न्युजसँग भने,‘राजनीतिक दलहरुले सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्छै भनेर प्रतिबद्धता जनाएका छन, तर व्यवहारमा लागू गरेको देखिदैन, दलहरु जिम्मेवार बन्न जरुरी छ ।’

उनले यस अवधिमा आचारसंहिता उल्लंघनको विषयमा एउटा पनि लिखित उजुरी नपरेको बताउदै उनले मौखिक रुपमा आएको उजुरीको तत्काल नै समाधान गर्दै आएको बताए ।मौन अवधिमा पनि राजनीतिक दलका नेताहरु सामाजिक सञ्जालबाट भोट माग्न व्यस्त देखिन्छन । गाउँगाउँमा भोजभतेर गर्नेदेखि लिएर सामाजिक सञ्जालबाट भोट दिनको लागि आग्रह गर्दै पोष्ट गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले प्रहरीले सामाजिक सञ्जालको निगरानी गरिरहेको बताए । उनले भने,‘आचारसंहिता उल्लंघनको विषयमा प्रहरीले विशेष निगरानी गर्दै आएको छ, हामीले उम्मेदवार र राजनीतिक दलका नेता कार्यकर्ताको पोष्टलाई अध्ययन गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्