रामेछापमा १ लाख ७८ हजारले गर्दैछन मतदान, तथ्याङकमा हेर्नुहोस रामेछापको निर्वाचन



३० वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचन अन्तर्गत आज रामेछापको ८ स्थानीय तह र ६४ वडामा १ लाख ७८ हजार ८६७ जनाले मतदान गर्ने भएका छन् । आज बिहान सात बजेटबाट मदातान गर्नका लागि मतदाताहरु लाइनमा बसेर मतदान गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान सुरु भएको बताएको छ । रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जिल्लाका २२३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान गर्ने काम भइरहेको रामेछाप न्युजलाई बताए ।

कुन स्थानीय तहमा कति मतदाता ?
आठ वटा स्थानीय तह अन्तर्गत उमाकुण्ड गाउँपालिकामा १६,२४६, गोकुलगंगा गाउँपालिकामा १८५२१, लिखु तामाकोसी गाउँपालिकामा २०,१००, रामेछाप नगरपालिकामा २४,९३१, मन्थली नगरपालिकामा ३७,२२०, खाँडादेवी गाउँपालिकामा २२,४००, दोरम्बा शैलुङ गाउँपालिकामा २०,९३४ र सुनापति गाउँपालिकामा १८,५१५ मतदाता रहेका छन् ।

रामेछापमा ९२ मतदान स्थल र २२३ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार चुनावमा तीन घेरामा सुरक्षाकर्मी परिचालन हुनेछन । पहिलोमा म्यादी प्रहरीसँग नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ । रामेछापमा चुनावका लागि २४ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

त्यसैगरी निर्वाचन गराउनका लािग १ हजार ११२ जना कर्मचारी खटिएका छन् । रामेछापमा ३३६ जनप्रतिनिधिका लागि १ हजार ३६९ जनाको उम्मेदवारी दिएका छन् । त्यसैगरी २४ वटा राजनीतिक दलले भाग लिने स्थानीय तहको निर्वाचनका लािग जिल्लामा
१ लाख ८७ हजार ८१० मतपत्र आएको र सम्बन्धित मतदान स्थल र केन्द्रमा पठाइएको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्