रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज मतदान नहुने



३० वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको एउटा मतदान स्थल अन्तर्गत रहेको तीन वटा मतदान केन्द्रमा आज मतदान नहुने भएको छ । मतदान सुरु भएको डेढ घण्टापछि बिहान साढे ८ बजे राजनीतिक पार्टीहरुकाबीच झडप भएकाे थियाे ।  निर्वाचन अधिकृतको कार्यालय खाँडादेवीले मतदान सुरु गर्नको लागि राजनीतिक दलहरुसँग पटक–पटक सर्वदलीय बैठक गरेपनि सहमति जुटन सकेको छैन् । माओवादीले आफ्ना उम्मेदवारमाथि कुटपिट भएको विषयलाई प्रमुख कारण बनाउदै आएको छ ।

राजनीतिक दलबीचको विवादको कारण बिहानै मतदान गर्न मतदान केन्द्रमा आएका मतदाता आ–आफ्नो घरघरमा लागेका छन् । मतदान सुरु गर्न जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङ स्वयंम नै राकाथुम लागेका छन् । राकाथुममा गत निर्वाचनमा माओवादीले जितेको थियो । यस पटक माओवादी, एमाले, कांग्रेस र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धामा छन् । वडा नम्बर १ राकाथुमको मतदान स्थल वडा कार्यालयमा तोकिएको छ ।

रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले बिहानदेखि नै मतदान सुरु गराउने विषयमा प्रयास भएपनि अझैसम्म सुरु नभएको रामेछाप न्युजलाई बताए । उनले भने,‘हामीले मतदान सुरु गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका हौ, दलहरुबीच कुरा नमिल्दा मतदान सुरु गर्न नसकिएको हो, अब करिब मतदान प्रक्रिया स्थगित गर्ने निष्कर्षमा पुगेका छौं ।’ राकाथुममा मतदान नभएको अवस्थामा खाँडादेवी गाउँपालिकाको मतगणना प्रक्रिया पनि स्थगित हुनेछ । सबै वडाको मत केन्द्रमा संकलन गरेपछि मात्र मतगणनाको प्रक्रिया अघि बढाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्