रामेछापको कुन स्थानीय तहमा कसको अग्रता ?



१ जेठ, रामेछाप ।
रामेछापको ८ स्थानीय तह मध्ये सात स्थानीय तहमा धमाधम मतगणना भइरहेको छ । मतगणना मध्य ६४ मध्ये आठ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । बाँकी वडाहरुमा मतगणना भइरहेको रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिए ।
मन्थली नगरपालिकामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले दुई वटाको मतगणना हुँदा १७७८ मत ल्याउदा कांग्रेसबाट नगरपालिकाको नगरप्रमुखको उम्मेदवार विनोद कार्कीले १४७३ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार दीपक प्रसाईले ५८९ मत ल्याएका छन् ।

त्यसैगरी रामेछाप नगरपालिकामा पनि एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर १ र २ को मतगणना हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले १०८९ र कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार बनेका लवश्री न्यौपानेले ८३५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकामा पनि एमाले र माओवादीबीच प्रतिस्पर्धा देखिएको छ । पालिकाको वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा एमालेबाट पालिकाका अध्यक्षका उम्मेदवार टंक चौलागाईले अग्रता लिएको छ भने माओवादीका उम्मेदवार मैन कुमार मोक्तानले पछ्याइरहेका छन् ।

त्यसैगरी सुनापति गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादीका उम्मेदवार ठूलोकान्छा तामाङले १६८३ मत ल्याउदा कांग्रेसका दिपेन्द्र खड्काले १६८२ मत प्राप्त गरेका छन् । कांग्रेस र माओवादीबीच एक मतको मात्र अन्र्तर रहेको छ ।

जिल्लाको उमाकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार शेरबहादुर सुनुवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका उम्मेदवार जित बहादुर कटुवालले सुनुवारलाई पछ्याइरहेका छन् ।

त्यसैगरी गोकुलगंगा गाउँपालिकामा एमालेका उम्मेदवार खड्ग बहादुर सुनुवारले थोरै मतले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार काजीबहादुर खडका्ले यसअघि दुई वटा वडामा मतगणना गर्दा अग्रता लिएपनि वडा नम्बर ३ मा आएपछि सुनुवारले अग्रता लिएका छन् ।
त्यसैगरी लिखु तामाकोसी गाउँपालिकामा एमालेका उम्मेदवार कमलप्रसाद कडरियाले हालसम्म गणना भएको मत मध्ये ३५ मतले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार केशव महत पनि मतअन्तर घटाउदै लगेका छन् । लिखु तामाकोसी गाउँपालिकामा भने अहिले विवादको कारण मतगणना स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्