रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खड्का विजयी



२ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कांग्रेसले खाता खोलेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उषा वस्नेत कार्की विजयी भएकी छिन् ।

कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का ६ हजार ९३ मत ल्याई विजयी भए भने उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गरेका हुन् । सुनुवारले ४ हजार ७ सय १० मत ल्याएका छन् ।त्यसैगरी कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले ४ हजार ६ सय ८६ मत ल्याएका छन् ।

उनले एमालेबाट उपाध्यक्षकी उम्मेदवार राधिका श्रेष्ठलाई पछि पार्दै विजयी भएकी हुन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो । गत निर्वाचनमा जितेकै आधारमा एमालेले खड्गबहादुर सुनुवार र राधिका श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको थियो । छ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा चार वटा वडामा कांग्रेस र दुई वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।

मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालय गोकुलगंगा गाउँपालिकाले औपचारिक घोषणा गर्न भने बाँकी छ । औपचारिक घोषणाको प्रतिक्षामा बसेका कांग्रेसका नेता कार्यकर्ताहरु विजयी जुलुस निकाल्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्