दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मोक्तान, उपाध्यक्षमा कांग्रेसकी थापामगर विजयी



४ जेठ, रामेछाप ।
रामेछापको शैलुङ दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मैन कुमार मोक्तान मदन विजयी भएका छन् । माओवादी रामेछापका जिल्ला संयोजक समेत रहेका मोक्तान पालिकाको अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार टंक प्रसाद चौलागाईलाई पराजित गर्दै मोक्तान विजयी भएका छन् । मोक्तानले अन्तिम समयमा आएर अग्रता लिदै चौलागाईलाई १२० मतले पराजित गरेका छन् । योसँगै माओवादीले पालिकामा विरासत बचाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा माओवादीले पालिकाको अध्यक्ष, उपाध्यक्षसहित छ वटा वडा जितेको थियो । यस पटक भने सात मध्ये माओवादीले तीन वटा वडामा मात्र जित्न सफल भएको छ ।
त्यसैगरी उपाध्यक्षमा भने नेपाली कांग्रेसकी खमला थापामगर विजयी भएकी छिन् । उनले एमालेबाट उपाध्यक्षको उम्मेदवार मुना कँडेल थापालाई पराजित गर्दै विजयी भएकी हुन् । सात वटा वडा रहेको पालिकामा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले दुई वटामा वडाअध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्