रामेछापको जिसस प्रमुखमा माओवादी निर्णायक



१४ जेठ, रामेछाप ।
रामेछापमा जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी केन्द्र निर्णायक बनेको छ । रामेछापको आठ वटा स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेले सुविधाजनक बहुमत ल्याउन नसकेपछि माओवादी निर्णायक देखिएको हो । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा गरी १६ जना प्रमुख उपप्रमुखहरु रहेका छन् ।

जसमध्ये कांग्रेसको तीन प्रमुख र चार उपप्रमुख निर्वाचित भएका छन् । एमालेबाट तीन उप्रमुख र तीन उपप्रमुख र माओवादीको दुई गाउँपालिकाका अध्यक्ष र एक उपाध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेसले रामेछाप नगरपालिकाको प्रमुख उपप्रमुख, गोकुलगंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, लिखु तामाकोसी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा शैलुङ गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।त्यसैगरी एमालेले मन्थली नगरपालिकाको प्रमुख उपप्रमुख, खाँडादेवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, उमाकुण्ड गाउँपालिकाको अध्यक्ष र लिखु तामाकोसी गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्ष र सुनापति गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जितेको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न भएर अहिले आठ वटै स्थानीय तहमा कार्यपालिकाको सदस्य चयनको प्रक्रिया अघि बढेको छ । योसँगै जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको विषयमा पनि चर्चा सुरु भएको छ ।

जिल्ला समन्वय समितिमा निर्वाचित हुनको लागि १६ मत मध्ये ९ मत आवश्यक पर्छ । कांग्रेस र एमालेसँग बहुमत नपुग्ने भएपछि जिल्ला समन्वय समितिको प्रमुखमा माओवादी निर्णायक शक्ति बनेको छ । माओवादीसँग कांग्रेस र एमालेले दुवै दलले छलफल अघि बढाएको छ । माओवादीका एक नेताले रामेछाप न्युजसँग भने,‘दुवै दल छलफलको लागि आएका छन, हामी प्रमुख लिने गरी तयारी गरिरहेका छौं ।’

(जिसस हुनु पर्नेमा अन्यथा भएकाेमा सच्याइकाे छ, सम्पादक)

प्रतिक्रिया दिनुहोस्