बागमती प्रदेश सरकारले जनताको पक्षमा काम गर्न सकेनः कैलाश ढुंगेल



१४ जेठ, हेटौडा ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताउदै सरकारले जनताको समस्यालाई ध्यान नै नदिएको बताएका हुन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै ढुंगेलले सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको बताए ।

वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएको योजनाहरु कटौती गर्ने काम मात्र गरेको आरोप लगाउदै निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको बताए । प्रदेश सरकारले जनपक्षीय कामको लागि कुनै पनि योजना ल्याउन नसकेको बताउदै उनले स्थानीय निर्वाचनमा गठबन्धन सरकारले निर्वाचन जित्नैको लागि सत्ताको दुरुपयोग गरेको बताए ।

प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको बताउदै भने,‘वाग्मती प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ ? यी सबैको भरणपोषण गर्दा खेरी अनि बिउ कहाँबाट ल्याउनु, मल कहाँ बाट ल्याउनु ?’

प्रतिक्रिया दिनुहोस्