राजदुत चौधरी र कुलमान लुभुघाटमा आएपछि सुनकोसी–३  जलविद्युत आयोजनाप्रति स्थानीय उत्साहित (फोटोफिचर)



२९ असार, रामेछाप ।
रामेछाप र काभ्रेको सीमाना लुभुघाटमा बन्ने सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाप्रति स्थानीय उत्साहित बनेका छन् । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले बुधवार लुभुघाटमा स्थलगत भ्रमण गरेसँगै स्थानीय आयोजना निर्माण हुनेमा आशावादी र उत्साहित देखिएका हुन् ।

६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना निर्माणबारे नेपाल र बंगलादेशबीच लगानीको विषयमा कुराकानी भइरहेको छ । राजदुत चौधरीसहितको टोलीलाई लुभुघाटमा स्थानीयले बाजागाजासहित स्वागत र सम्मान गरेका थिए । राजदूत चौधरीले बंगलादेशको समेत लगानी रहने आयोजना निर्माणका सम्बन्धमा सरकारसँग छलफल तथा परामर्श भइरहेको बताउदा स्थानीय झन हौसिएका थिए ।

उनले आयोजना स्थल पुगेर स्थानीयको उत्साह देखेपछि लगानीका लागि थप वातावरण सृजना भएको अनुभुत गरेको बताए । ‘स्थानीय राजनितिक दल एवं स्थानीयबासीको आयोजना प्रतिको प्रतिबद्धता देखेर आफू निकै उत्साहित भएको बताउदै उनले स्थानीयमा देखिएको खुसीले आफूहरुलाई लगानीका लागि उत्साहित बताएको बताए ।

उक्त कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक सन्दिपकुमार देवले रामेछाप र काभ्रे जिल्लाको सीमा पर्ने लुभुघाटमा सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको बाँध निर्माण गरिने बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना भारतको समेत संलग्नतामा निर्माण गर्न सकेमा अझै राम्रो हुने सुझाव दिए । बंगालादेशसँगै भारतको लगानी ल्याउँन सकेमा यसलाई त्रिवेणी आयोजना बनाउन सकिने बताउदै स्थानीयबासीले विना अवरोध सहयोग गरेको खण्डमा चाँडै निर्माण गर्न सकिने बताए ।

कम क्षति र कम प्रभावित रहेने हुँदा आयोजना चाँडै सम्पन्न गर्न सकिने अहिलेसम्मको अध्ययनले देखाएको छ, घिसिङले भने,‘सरोकारवाला सबैको सहयोग रहेमा अबको केही वर्षमा आयोजना तयार गर्न सकिन्छ ।’ उनले यो आयोजना विद्युत उत्पादनका लागि मात्र नभएर पर्यटनका लागि पनि उक्तिकै महत्त्वपूर्ण हुने बताउदै आयोजनाको निर्माण कार्य छिट्टै अघि बढनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा माओवादीका पोलिटब्युरो सदस्य युवराज चौंलागाईं, नेपाली काँग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का,सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ, प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीसँगै आयोजना स्थलको भ्रमणमा गएका थिए ।

सुनकोसी–३ आयोजना सर्वप्रथम जापानी सहयोग नियोग (जाइका) ले सन् १९८५ मा पहिचान गरेको थियो । यो आयोजनाको बाँधको उचाई १८० मिटर हुने अध्ययनले देखाएको छ । चौडाइ ५ सय मिटर रहेनेछ ।आयोजना निर्माण गर्दा लुभुघाटबाट ४५ किलोमिटर टाढा सिपाघाट हुँदै बलेफीसम्म प्रभावित हुनेछ । करिब १५ सय ६५ घरधुरी विस्थापित हुने देखिन्छ । अध्ययन अनुसार आयोजना निर्माण हुँदा वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन गर्न सकिनेछ । आयोजना निर्माण हुने भएसँगै यस क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्