रामेछापमा एउटै व्यक्तिलाई दोहोर्‍याएर नागरिकता दिन सिफारिस गर्ने वडा सचिव पक्राउ, वडाअध्यक्ष फरार



२५ साउन, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितिमा एउटै व्यक्तिलाई दोहोर्याएर नागरिकताको लागि सिफारिस गर्ने वडा सचिव पदम कुमारी वस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई दोहोर्याएर नागरिकता लिन सिफारिस गरेको आरोपमा प्रितिका वडा सचिवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

२०७५ सालमै नेपाली नागरिकता बनाएकी वस्नेतलाई पुनः अर्को नागरिकता लिनका लागि सिफारिस गरेको आरोपमा वडा सचिवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले रामेछाप न्युजलाई बताए ।
पुनः नागरिकता दिने वस्नेतको प्रयासमाथि जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका कर्मचारीहरुले शंका व्यक्त गरेपछि दोहोर्याएर नागरिकता लिन लागेको घटना बाहिरिएको थियो । पुनः नागरिकता लिने प्रयासमा रहेकी ती युवतीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले सोही दिन पक्राउ गरेको थियो । डिएसपी थिङका अनुसार वडा सचिवसँगै पुनः नागरिकता लिन खोज्ने वस्नेतको आमालाई समेत पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

दोहोर्याएर नागरिकता लिन खोज्ने युवतीले बयानमा नयाँ जन्म दर्ता गराउने कार्यमा वडा सचिवको हात रहेको बयान दिएकी छिन् ।वडा सचिवलाई दोहोर्याएर जन्म दर्ता गराएको अभियानमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

वस्नेतले बयानको क्रममा आफूलाई नागरिकतामा भएको निर्मला नाम मन नपरेर सन्ध्या नाममा नागरिकता लिन खोजको प्रहरीको बयानको क्रममा भनेकी छिन् । उनले तीन बर्ष अघि राहदानी समेत बनाइसकेको खुलेको छ । राहदानी भने मेनपावरले नदिएको खुलाएको बताइएको छ ।

वडा सचिवलाई दोहोर्याएर जन्म दर्ता गराएको,दोहोर्याएर नागरिकता लिन खोज्ने युवतीलाई सरकारी कागजात केरमेर गरेको वडा अध्यक्षलाई भने नागरिता दिन सनाखत गरेको विषयमा मुद्दा चलाइने तयारी प्रहरीले गरेको छ । वडा सचिवको बयानपछि वडा अध्यक्ष वडाअध्यक्ष मान बहादुर सुनुवारलाई अनुसन्धानका लागि ल्याउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्