पार्टीभित्र देखा परेको विवाद मिलाएर अघि बढछौः सचिव खड्का



२५ साउन, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले पार्टीभित्र देखा परेको आन्तरिक विवाद समाधान गरेर अघि बढने बताएका छन् । उनले पार्टीभित्र देखा परेको विवाद समाधानको लागि पार्टीका नेताहरु जिम्मवार बन्नु पर्ने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै सचिव खड्काले भने,‘पार्टीभित्र विवादहरु बेला बखत देखा पर्ने गर्छन, अहिले देखा परेको विवाद समाधान नै गर्न नसकिने खालको छैन, विमतीको विषयमा पार्टीभित्र छलफल गरेर समाधान खोज्नु पर्छ, हामी त्यही समाधानको खोजीमा जुटेका छौं ।’

पार्टीलाई सुदृढ गरिएकै कारण स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन सकिएको बताउदै उनले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्ने बताए ।उनले भने,‘पार्टीलाई मिलाएर लैजाने जिम्मेवारी पार्टी सभापतिको हो, असन्तुष्ट नेताहरु पनि जिम्मेवार बन्नु पर्छ, आरोप प्रत्यारोपले मात्र पार्टी चल्दैन,नेताहरुले कर्तव्य भुल्नु हुँदैन ।’

आफूहरुले दुवै पक्षबीच देखा परेको विवादलाई समाधान गर्न संवाद अघि बढाएको बताउदै खड्काले समाधान नै हुन नसक्ने विवाद नरहेको बताए । निर्वाचनको मुखमा एकताको बलियो सन्देश दिन नसकेको अवस्थामा आएको अवसर पनि गुम्न सक्ने चेतावनी दिदै उनले नेताहरुले जिम्मेवारी बहन गर्ने बेला आएकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्