सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न नेपाल–बंगलादेशबीच संयुक्त कम्पनी खडा गर्ने सहमति



१० भदौ, ।
रामेछाप र काभ्रेको सीमाना लुभुघाटमा निर्माण हुने ६८३ मेगावाट जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन नेपाल र बंगलादेशबीच संयुक्त कम्पनी खडा गर्ने सहमति भएको छ ।
नेपाल­–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सो सहमति भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारी र बङ्गलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीबीच राजधानीमा दुई दिनसम्म चलेको बैठक मार्फत सुनकोसी तेस्रो अघि बढाउने सहमति भएको हो ।
बङ्गलादेशले लगानी गर्न चाहेको ६८३ मेगावाटको जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरेर आगामी बैठकमा वित्तीय ‘मोडालिटी’ टुङ्ग्याउने सहमति भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार आयोजनाको हालसालै सम्पन्न विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनबारे बैठकमा छलफल भएको र सो प्रतिवेदन बङ्गलादेशलाई हस्तान्तरण गरिएको छ ।
बैठकले सुनकोसी तेस्रोको वित्तीय ‘मोडालिटी’ आगामी बैठक आगामी छ महिनाभित्र टुंगो लगाउने, प्रसारण लाइनका लागि भारतसँग संवाद गरिने,अप्पर कर्णालीको पाँच सय मेगावाट विद्युत् खरिद सम्झौता एक महिनाभित्रै गरिने सहमति भएको छ ।
त्यसैगरुी
रामेछापको खाँडादेवी गाउँपालिका र र काभ्रेको तेमाल गाउँपालिकाको बीचमा पर्ने लुभुघाटमा सुनकोसी तेस्रो लजविद्युतआयोजना बनाइनेछ । विद्युत् विकास विभागले गराएको सम्भाव्यता अध्ययनअनुसार १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटरमाथिसम्म फैलिने भएकाले सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ । वार्षिक रूपमा दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने यो आयोजनाको विद्युत्मध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ । मङ्गलबार बङ्गलादेशी प्रतिनिधिमण्डलले जलविद्युत आयोजना निर्माण हुने स्थल लुभुघाटमा क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्