रामेछापमा संघ लिएर प्रदेश कांग्रेसलाई दिने माओवादीको रणनीति, मान्ला त कांग्रेस ?



१० भदौ, रामेछाप ।
सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ । निर्वाचनको मिति घोषणा लगत्तै गठबन्धनले सिट बाँडफाँड गर्न कार्यदल गठन गरेपनि सिट बाँडफाँडमा अझै सहमति जुटेको छैन् । दलहरुले आ–आफ्नै अडान अनुसारको सिटमा दावी गर्दा सिट बाँडफाँड थप पेचिलो बन्दै गएको छ । गठबन्धनमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट टाउको दुखाईको विषय बन्न पुगेको छ । १६५ मध्ये कांग्रेसले ९०, माओवादीले ६० र एकीकृत समाजवादीले ४०, जसपाले ३० र जनमोर्चाले २ सिटमा दावी गरेपछि सिट बाँडफाँटको विषय थप कठिन बन्दै गएको हो ।

यसैबीच एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा पनि गठबन्धनमा रहेका कांग्रेस माओवादी र एकीकृत समाजवादीबीच आ–आफ्नै दावी रहेको छ । माओवादीले विगतमा संघको निर्वाचन जितेको आधारमा आफूले पाउनु पर्ने अडान केन्द्रमा राख्दै आएको छ । कांग्रेसले विगतमा पनि नेकपाको गठबन्धन हुँदा छ हजार मतले हारेको र अहिले स्थानीय तहको निर्वाचनमा पहिलो दल भएकाले यस पटक प्रतिनिधिसभ र प्रदेश क आफूले पाउनु पर्ने अडान केन्द्रमा पेश गरेको छ । नेकपा एकीकृत समाजवादीले पनि संघको टिकट आफूले पाउनु पर्ने निर्णय गर्दै तीन जनालाई उम्मेदवारकै रुपमा केन्द्रमा सिफारिस गरेको छ ।

संघको टिकमा कांग्रेस र माओवादीकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा तेस्रो दल बनेको माओवादीले गठबन्धन भएको अवस्थामा कांग्रेसको भोट लिएर निर्वाचनमा जित्ने रणनीति बनाएको छ भने कांग्रेसले विगतको भन्दा जिल्लामा पार्टीको उपस्थिति बलियो रहेकाले संघ र एउटा प्रदेश लिनु पर्ने अडानसहित केन्द्रमा पेश गरेको छ । कांग्रेसले संघको टिकट पाएको अवस्थामा माओवादीको थोरै मात्र मत आए पनि सहजै निर्वाचन जित्ने आकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्