नक्कली रक्सीलाई सक्कली बनाएर बेच्ने रामेछापका दुई भाईसहित पाँच जना पक्राउ



१० भदौ, काठमाडौं ।
विभिन्न ब्राण्डका नामका नक्कली मदिरालाई सक्कली बनाएर बच्दै आएका रामेछापका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली रक्सी बनाउने फ्याक्ट्रीमा नै छापा मारेर पाँच जनालाई रंगेहात पक्राउ गरेको हो ।काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले नक्कली रक्सी उत्पादन गर्न प्रयोग गरिएको फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी रहेको बताए ।

पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका–१ घर भई काठमाडौंको कोटेश्वरमा बस्‍दै आएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका–८ घर भई भक्तपुरको चाँगुनारायण बस्‍ने ३९ वर्षीय भगवान बस्‍नेत, कालिञ्‍चोक गाउँपालिका–४ घर भई महाबौद्ध बस्‍ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौंको मूलपानी बस्‍ने २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका–९ घर भई हाल ठमेल बस्‍ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्