सभापति कान्छारामले बोलाए जिल्ला कार्यसमितिको बैठक, सहभागी होलान असन्तुष्ट समुह ?



१० भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापभित्र चलिरहेको विवादको समाधान गर्न सभापति पूर्ण बहादुर तामाङ कान्छारामले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन् । पार्टीभित्रको विवाद समाधान र आगामी निर्वाचनको तयारीको लागि सभापति तामाङले भोलीका लागि मन्थलीमा जिल्ला कार्यसमितिको बैठक बोलाएका हुन् । गत साउन ३ गते पूर्व सभापति लवश्री न्यौपानेसहितका जिल्ला कार्यसमितिका सदस्यहरुले बैठक बाहिष्कार गरेका थिए ।

उक्त बैठकपछि असन्तुष्ट न्यौपाने समुहका नेताहरु सभापतिको विरुद्ध केन्द्रीय कार्यालयसम्म पुगेका छन् । असन्तुष्ट समुहका नेताहरु आज पार्टीले आयोजना चुनावी अभियान कार्यक्रममा भने सहभागी भएका थिए । तर भोली बस्ने बैठकमा सहभागी हुनको लागि असार ३ गतेपछि भएका निर्णयलाई खारेज हुनुपर्ने माग असन्तुष्ट समुहले राखेका छन् । यता सभापति तामाङले भने असन्तुष्टि राख्नको लागि बैठकमा सहभागी हुन आग्रह गर्दै छलफलबाट आएका निष्कर्षलाई आत्मसाथ गरेर अघि बढन आफू तयार रहेको बताउदै आएका छन् ।

कांग्रेस रामेछापका सचिव दीपक खड्काले पार्टीले बोलाएको बैठक बहिष्कार गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । उनले रामेछाप न्युजसँग भने,‘असन्तुष्ट साथीहरुले उठाएको माग सम्बोधन गर्न सभापति लचिलो हुनुपर्छ, जिल्ला कार्यसमितिका सदस्यहरुले बाहिर बसेर होइन आफ्ना कुरा पार्टीको बैठकमा भनेर कमजोरी सच्याउने काममा लाग्नु पर्छ ।’ निर्वाचनको मुखमा पार्टीभित्र विवाद देखिनु राम्रो पक्ष नभएको बताउदै समाधान नै गर्न नसकिने जटिल खालेको विवाद नरहेको बताउदै सचिव खड्काले सभापतिले पनि आफ्नो कार्यशैलीलाई सच्याउन अघि बढन तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्