आशा जगाउदै कुलमानः ८५ दिनमा भारतलाई बिजुली विक्री गरेर ६ अर्ब आम्दानी



१३ भदौ, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा ६ अर्ब बराबरको बिजुली भारतलाई विक्री गरेको छ । केही महिना अघि मात्र नेपालमा उत्पादित विद्युत भारतमा निर्यात गरेको प्राधिकरणले ८५ दिनमै राम्रो आम्दानी गर्न सफल भएको हो । हाल दैनिकरुपमा नै कुल ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात भइरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

माथिल्लो तामाकोसीको ४५६ मेगावाट र अन्य आयोजनाको ११० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको उनले जानकारी दिए । प्राधिकरणले चालू आवमा मात्रै १६ अर्ब बराबरको बिजुली निर्यात हुने अनुमान गरेको छ । आगामी दुई वर्षपछि मुलुक पूर्णरुपमा बिजुली निर्यात गर्ने देशका रुपमा परिणत हुने बताउदै घिसिङले आगामी वर्षदेखि आयात शून्यमा झारेर निर्यात मात्रै गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्