रामेछापमा संघको उम्मेदवार बन्न माओवादीभित्र नयाँ अनुहारको खोजी



१५ भदौ, काठमाडौं ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलभित्र उम्मेदवार बन्ने होडवाजी चलेको छ । सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ । यसैबीच रामेछाप सत्ता गठबन्धनभित्र संघको टिकटको लागि आ–आफ्दो दावी प्रस्तुत हुँदै आएको छ । केन्द्रबाट नै टिकटको टुंगो लगाउने भएकाले जिल्ला तहको दावीले मात्र ठूलो असर नपुर्याउने देखिन्छ ।

संघको टिकटको लागि कांग्रेस, माओवादीसँग एकीकृत समाजवादीले पनि आ–आफ्नो दावी गर्दै आएका छन् । विगतमा माओवादीले संघको निर्वाचन जितेको आधारमा यस पटक सिट बाँडफाँडमा पनि आफ्नो भागमा पर्ने आकलन गरेको छ । तर कांग्रेसले जिल्लामा पहिलो पार्टी भएकाले यस पटक संघको टिकट पाउनु पर्ने दबाब केन्द्रमा दिदै आएको छ । केही दिनभित्र नै संघको टिकटको छिनोफानो हुनेछ ।

संघको टिकट आफूहरुको पोल्टामा आउने ठानेको माओवादीभित्र पनि यस पटक नयाँ अनुहारको खोजी सुरु भएको छ । माओवादीबाट दुई कार्यकाल सांसद बनेका श्याम कुमार श्रेष्ठ पनि संघको टिकटको लागि आफ्नो दावी कायमै राखेका छन् । रामेछापका जिल्ला इन्चार्ज समेत रहेका श्रेष्ठलाई पार्टीले चुनावी कमाण्डर समेत तोकिसकेको छ । तर यस पटक नयाँ अनुहारलाई टिकट दिनु पर्ने बहस पार्टीभित्र सुरु भएको छ । नयाँ अनुहारको रुपमा माओवादीका नेता युवराज चौलागाई अघि बढाउन नेताहरुले अभियान थालेका छन् । गत संघीय चुनाव पनि चौलागाई उम्मेदवारको रुपमा पार्टीले सिफारिस गरेपनि अन्तिम समयमा आएर श्रेष्ठले टिकट लिएका थिए ।

रामेछापमा चुनावी प्रतिस्पर्धाका लागि अन्य नेताहरु रहेपनि श्रेष्ठ र चौलागाईकै बीचमा टिकटको लागि प्रतिस्पर्धा हुने माओवादीका एक नेताले रामेछाप न्युजलाई बताए । उनका भने,‘वर्तमान सांसद श्याम कुमार श्रेष्ठको पनि टिकटका लागि दावी छ, युवराज चौलागाई उठाउने विषयमा पनि छलफल भइरहेको छ, यस पटक नयाँ अनुहार आउनु पर्छ भन्ने पार्टीभित्र छलफल सुरु भएको छ, हेरौ केन्द्रले कस्तो निर्णय गर्छ ?’

प्रतिक्रिया दिनुहोस्