रामेछापमा बृद्धा माझीको कुटिकुटी विभत्स हत्याः पितृलाई खुसी बनाउने नाममा बृद्धा मारिए, २३ जना पक्राउ



१० असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थ्ति सित्खामा अन्धविश्वासको कारण एक जना बृद्धाको गाउँलेहरुले कुटेर विभित्स ढंगले् हत्या गरेका छन् । माझी समुदायभित्र पितृ खुसी बनाउने नाममा खाँडादेवी गाउँपालिका–३, भिरापानी, सित्खामा ५५ बर्षीय बिबी माझीको कुटपिटबाट ज्यान गएको हो । उक्त घटनामा थप एक जना बृद्धा गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न भएको आशंकामा २३ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राज कुमार थिङले अन्धविश्वासको कारण एक जना बृद्धाको ज्यान गएको बताए । उनले घटनामा संलग्न भएको आशंकामा २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको रामेछाप न्युजलाई बताए । थिङका अनुसार मारिनेमा ५० बर्षीय बिबी माझी र घाइते हुनेमा उनकी आमा ७० वर्षीया सुनमाया माझी रहेका छन् । घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल डिएसपी थिङ स्वंम उपस्थित भएर अनुसन्धान प्रक्रिया अघि बढाएका छन् ।

गाउँलेहरुले बिबी माझीका कारण पितृ खुसी नभएको आरोप लगाउदै काम्नेसहितका युवा युवतीहरु मृतक माझीको घरमा पुगेका थिए । बिबीको घरमा आमाछोरीमात्र थिए । गाउँलेले पहिलेदेखि नै बिबीलाई बोक्सीको आरोप लगाउँदै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काम्दै पुगेका युवायुवतीले बिबीकै कारण पितृ खुसी नभएको भन्दै सुरुमा कुटपिट गर्न सुरु गरेका थिए ।

काम्दै अक्षताले हान्दै कुटपिट गरिरहेको बेला आएको बिरालोलाई पनि माझीहरुले काटेका थिए । प्रत्यक्षदर्शीका अनुसार बिरालो काटेपछि बिवीको पनि मृत्यु भएको थियो । पक्राउ परेकहरुले प्रहरी समक्ष युवा युवतीहरु उक्त घटनाका बारेमा आफूलाई थाहा नभएको प्रारम्भिव बयान दिएका छन् ।प्रहरीले घटनामा संलग्न भएकाहरुलाई कारवाही हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्